तीन महिने धिमे बाजा प्रशिक्षण शुभारम्भ

तीन महिने धिमे बाजा प्रशिक्षण शुभारम्भ
भक्तपुर, असार १४ गते
भक्तपुरको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन तथा नयाँ पुस्तामा परम्परागत धिमे बाजा बजाउने सीप हस्तान्तरण गर्ने उद्देश्यका साथ श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक तथा खेलकुद उपसमितिको आयोजनामा तीन महिने धिमे बाजा प्रशिक्षण औपचारिक रूपमा शुभारम्भ भएको छ ।
संस्थाका अध्यक्ष राधेश्याम सुवालवाट प्रशिक्षण कार्यक्रम शुभाराम्भ गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व श्री सृजन ग्वाछाले गर्नुभएको थियो भने व्यवस्थापक श्री शिवजी हाकुदुवाल तथा प्रशिक्षक श्री रभिम कपाली लगायत प्रशिक्षार्थीहरूलाई तालिमको बारैमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्री राधेश्याम सुवालले धिमे बाजा भक्तपुरको मौलिक पहिचान र सांस्कृतिक गौरव भएको उल्लेख गर्दै यसको संरक्षणका लागि युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीले आर्थिक सेवा सँगसँगै सामाजिक, सांस्कृतिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै समुदाय प्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । तालिमबाट प्रशिक्षार्थीहरूले धिमे बाजाको व्यावहारिक ज्ञान हासिल गरी संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


व्यवस्थापक शिवजी हाकुदुवालले सहकारी केवल बचत तथा ऋणमा सीमित नभई सदस्य तथा समुदायको समग्र विकासमा केन्द्रित रहेको बताउनुभयो । उहाँले यस्ता सांस्कृतिक तथा सीपमूलक कार्यक्रमहरूले युवाहरूमा अनुशासन, सहकार्य, नेतृत्व विकास र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै तालिमलाई सफल बनाउन सबै प्रशिक्षार्थीलाई नियमित सहभागिताका लागि आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति सृजन ग्वाछाले धिमे बाजा तालिम सञ्चालनका लागि सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै सहभागीहरूलाई लगनशीलताका साथ तालिम पूरा गरी सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले परम्परागत कला–संस्कृतिको संरक्षणमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षक रभिम कपालीले आगामी तीन महिनासम्म धिमे बाजाको आधारभूतदेखि व्यावहारिक अभ्याससम्म व्यवस्थित रूपमा प्रशिक्षण प्रदान गरिने जानकारी दिनुभयो । नियमित अभ्यास, अनुशासन र निरन्तर प्रयासबाट सहभागीहरू दक्ष धिमे बाजा वादक बन्न सक्ने बताउँदै उहाँले सम्पूर्ण प्रशिक्षार्थीलाई उत्साहका साथ तालिममा सहभागी हुन प्रेरित गर्नुभयो ।
तीन महिनासम्म सञ्चालन हुने उक्त तालिममा जम्मा २७ जना बालबालिका, युवा तथा इच्छुक सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन सांस्कृतिक तथा खेलकुद उपसमितिका सदस्य अमित खोंजु र स्वागत मन्तव्य कर्मचारी मिनु थुयाजुद्वारा गरिएको थियो । अन्त्यमा सहभागीहरूले सहकारीले स्थानीय संस्कृति संरक्षण र नयाँ पुस्तामा मौलिक कला हस्तान्तरणका लागि गरेको यस पहलको प्रशिक्षार्थीहरुवाट प्रशंसा गर्दै तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।