बाराही साकोसको रजत वर्ष सुरु,
भक्तपुर, श्रावण ४ गते
सहकारी संस्थाका सञ्चालकहरु इमान्दार नहुँदा जनताको अर्वौ रुपियाँ डुबेको चर्चा गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले बाराही साकोसको रजत वर्षको शुभारम्भ गर्दै संस्थाका जेष्ठ सदस्यहरुलाई आज भक्तपुरमा सम्मानित गर्नु भयोे ।
सञ्चालकहरुले सहकारी अभियान बारे सदस्य समुदायलाई राम्रोसँग बुझ्ने गरी जानकारी दिनुपर्ने र सदस्य समुदायले पनि सहकारी गतिविधि र हिसाव किताव राम्रोसँग हेर्नुपर्नेमा जोड दिदै अध्यक्ष विजुक्छेले वर्ष दिनमा एक पटक भेला भएर भोज खाएर आँखा चिम्लेर सही छाप मात्र गर्ने ब्यवहारले सदस्यहरुको घरखेत चलान भइरहेको बताउँदै उहाँले सदस्यहरुले संस्थाको गतिविधिमा नियमित सहभागिता र नियमण गर्नु पर्नेमा जोड दिनु भयो । कुरा नबुझि सही छाप गर्नु भनेको खालि कागजमा सही गर्नु सह्र हुने भन्दै अध्यक्ष विजुक्छेले सदस्यहरुलाई सहकारी सञ्चालकहरुबाट सचेत रहन आग्रह गर्नु भयो ।


२०२५।२६ सालमा पनि मंगलेचाहरुले जनतालाई झुक्याएर सही छाप गराएकोले उल्टो टोपी लगाएर शहर घुमाएको स्मरण गर्दै अध्यक्ष विजुक्छेले जागिरको लोभमा स्थानीय छोरीहरुलाई सहकारीमा काम लगाएर जनताको बचत गराउँदा ती बचत कहाँ लगानी भयो? के गर्दै छ ?भन्ने जानकारी नराख्दा र सञ्चालकहरुले आफू खुसी लगानी गर्दा जनताको पैसा डुबेको हो उहाँले भन्नु भयो । यस्तै भएर ओरेन्टमा भक्तपुरबासीको ८० करोड डुबेको छ त्यसैले सदस्य भएको सहकारी बास्तबै समुदायको सहकारी होकी होइन बुझ्न उहाँले जोड दिनु भयो ।
जनताको सबै पैसा सहकारीमा जम्मा भएपछि सञ्चालकहरु मलिक जस्तै भएर जनता ठगिन पुग्दा अनाहकमा जनताले ज्यान समेत गुमाउन परेकोले त्यस्तो काम गराउन नहुनेमा अध्यक्ष विजुक्छेले जोड दिनु भयो ।
एउटै परिवारका सदस्यहरुले पनि परिवारमा समेत छलफल नगरी विभिन्न सहकारीमा रकम जम्मा गर्ने गर्दा समुदाय ठगिन पुगेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले पढे लेखेकाहरु सबै इमान्दार मात्र नभई बेइमान पनि हुने भएकाले हामी भन्नेकाहरुलाई नै जुटाको माला लगाउनुपर्ने अवस्था आउन दिन नहुनेमा जोड दिनु भयो ।
सहकारी संस्था आफैले तरकारी उत्पादन गर्ने गरेको भए भारतबाट विषाक्त तरकारी किनेर खान्नुनपर्ने चर्चा गर्दै अध्यक्ष विजुक्छेले देशमा क्यान्सर रोग बढ्नुको कारण भारतबाट ल्याएको विषाक्त तरकारी नै भएको बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथी नेफ्कुनका अध्यक्ष परितोष पौडेलले सहकारी संस्था समुदायमा आधारित हुन नसक्दा पछिल्लो चरणमा सहकारीमा समस्या देखिन थालेको तर बाराही साकोसमा त्यस्तो नभएको र नहुने विश्वास व्यक्त गर्नु भयो । बाराही साकोस दक्षिण एसियाकै एक उत्कृष्ठ सहकारी भएको चर्चा गर्दै अध्यक्ष पौडेलले बाराही साकोस देशकै नमूना सहकारी भएको बताउनु भयो । सो अवसरमा उहाँले सम्मानित जेष्ठ सदस्यहरुलाई दोसल्ला ओदाएका थिए ।
संस्थाका अध्यक्ष विश्वराम त्वायनाको सभापतित्वमा भएको सो रजत वर्ष शुभारम्भ कार्यक्रममा नेफ्सकुन बागमति प्रदेशका अध्यक्ष उद्धव सापकोटा, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, राष्ट्रिय सहकारी बैंकका सञ्चालक धुर्बराज विष्ट, भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवालले समुदायमा आधारित सहकारी अभियान बारे आआफ्ना धारणा व्यक्त गरेका थिए भने संस्थाका संस्थापक अध्यक्ष राध्यश्याम सुवालले बाराही साकोस स्थापनाको इतिहास बारे चर्चा गर्दै रजत वर्षका विभिन्न कार्यक्रमहरु बारे प्रकाश पार्नु भयो । सो अवसरमा बाराही साकोसका २६६ जना जेष्ठ सदस्यहरुलाई दोसल्ला ओडाएर, प्रमाण पत्रका साथै उपहार दिएर जेष्ठ सदस्य सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमा रजत वर्ष मुल समारोह समितिका संयोजक एवं संस्थका उपाध्यक्ष कृष्णभक्त बोडे, कार्यक्रम सञ्चालक जनकप्रसाद न्याईच्याई र पुनेन्द्र कुसीले पनि बालेका थिए ।













