आमसञ्चार माध्यममा बाल संवेदनशीलताप्रति ध्यानाकर्षण
काठमाण्डौ, श्रावण ४ गते
नेपाली आमसञ्चार माध्यममा बालबालिकाका सवालहरुले प्राथमिकता पाउन सञ्चार माध्यम र पत्रकारहरुको समेत क्षमतावृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधबार काठमाण्डौमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा देशभर रहेका ८० लाख बालबालिकाका सवालहरु ओझेलमा पर्नुको कारण आम सञ्चार माध्यम र पत्रकारहरुको बाल संवेदनशीलताप्रति ध्यान नपुगेको आरोप समेत लगाएका थिए ।
नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रिया तथा संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि समितिमा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सहभागि बालअधिकारकर्मीहरुले बालमैत्री पत्रकारितामा जोड दिएका हुन ।
आयोजक चाइल्ड नेपालले बालअधिकारका सवालहरुमा काम गर्दै आएका अभियान्ता, अनुसन्धानकर्ता र पत्रकारहरु बीच भएको सो अन्र्तक्रिया कार्यक्रम सँगै संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्वारा प्रस्तुत गरिएको प्रतिवेदन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं राससका प्रमुख धमेन्द्र झाले नेपाली सञ्चार माध्यम प्रति बाल अभियान्ताहरुले घुमारो तरिकाले विरोध जनाइरहेको प्रति आपति जनाउँदै नेपाली सञ्चार माध्यमले बालबालिकाका सवालहरुलाई ओझेलमा पार्ने काम नगरेको बरु पत्रकारहरुको क्षमतावृद्धिमा ध्यान दिनसके थप प्रभावकारी हुने बताए । राष्ट्रिय समाचार समितिमा समेत बालबालिकाका सवालहरुलाई स्थान दिने बताए । उहाँले बालबालिकाका विषयगत र संगठित पत्रकारिताले बालबालिकाका सवालहरु परिस्कृतरुपमा उठ्ने बताए ।

चाइल्ड नेपालका अध्यक्ष डा कृष्ण सुबेदीले सन् २०१३ मा सात वटा बालबालिका सम्बन्धी काम गर्ने संस्था मिलेर यूएन कमिटीमा रिपोर्ट पठाएको सम्झना गर्नुहुँदै हाल देशभर ६७५ वटा संस्थाले बालबालिका सम्बन्धी काम गरिरहेको बताउनुभयो ।
उहाँले प्रत्यक २ वर्षमा नागरिक समाजका तर्फबाट यूएन कमिटीमा बालबालिका सम्बन्धी रिपोर्ट प्रतिवेदन दिनुपर्ने बताउनुहुँदै हाल १८ वटा बालबालिका सम्बन्धी काम गरिरहेका संस्था मिलेर प्रतिवेदन हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बिशेष अतिथि डा कुन्दन अर्यालले नेपाली आमसञ्चारमा आगामी दिनमा बालबालिकासम्बन्धी कभरेज बढाउन पत्रकारहरुबीच बालअधिकारका बारेमा जानकारी बढाउन आवश्यक ज्ञान, सीप र नैतीक पक्ष, वैचारिक आदानप्रदान, क्षमता अभिवृद्धिका लागि छलफलको क्रम अझ बढाउनुपर्ने बताउनुभयो ।
उहाँले बाल अधिकारकर्मी र विज्ञहरुको विचार आलेख तयार गरी सञ्चारमाध्यमलाई उपलब्ध गराएर सार्वजनिक वृत्तमा बालबालिकाका सवाललाई मुखरित गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र राष्ट्रिय बाल अधिकार परिषदबीच बाल मैत्री मिडिया कभरेजको सारभूत रुपमा अभिवृद्धि गर्न समन्वय र सहकार्य हुन जरुरी रहेको पनि बताउनुभयो।
उहाँले अखवारमा प्रकाशित सामग्रीका २ प्रतिशत मात्र पूर्णतः बालबालिकामा केन्द्रीत भएको बताउनुहुँदै केन्द्रीकृत छलफल (देशका सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी बालअधिकारकर्मी र विज्ञ) गरी अनलाइनका समाचारमा पनि विचार आलेख, सम्पादकीय तथा अन्तरवार्ताको गुणात्मक तथा परिमाणात्मक पक्षको अध्ययन गरी बढाउनुपर्ने बताउनुभयो ।














