प्राङ्गारिक मल बनाउने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

प्राङ्गारिक मल बनाउने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण
२०७८ असोज ७ गते, बिहीबार
भक्तपुर नगरपालिकाको आयोजना तथा रिकिशी कम्पोष्ट प्रा.लि. को प्राविधिक सहयोगमा २०७८ भदौ २४ गतेदेखि असोज १ गतेसम्म भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई रिकीसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउनेसम्बन्धी दशदिने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसप्रकारका तालिमले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।


तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सफल कार्यान्वयनमा जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले नयाँ नयाँ प्रविधिबारे खोज तथा अनुसन्धान गरिरहेको बताउनुभयो ।
उहाँले दम खोकीका बिरामीहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले जापान सरकारसँग सहकार्य गरी भक्तपुरको च्याम्हासिंहमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको अवगत गराउनुभयो ।
भक्तपुर नपाले यहाँका सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका गतिविधिहरुमा विदेशी सहयोगलाई भन्दा स्थानीय जनताको सीप, सहयोग र साथलाई प्राथमिकतामा राखेको बताउनुहुँदै फोहोरबाट उत्पादित मल किसानहरुलाई वितरण गरी प्रत्यक्ष लाभ पु¥याउने उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्वले भक्तपुरको फोहोरमैला व्यवस्थापनमा थप वैज्ञानिक र आधुनिक विधि अपनाउन रिकिसी तालिम सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले कुहिने फोहरका कारण सहर दुर्गन्धित हुने भएकोले नगरपालिकाले कुहिने फोहोर व्यवस्थापन गर्दै मल बनाउने तालिमलाई थप विस्तार गर्दै लाने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले रिकिशी प्रविधिको उचित प्रयोगबाट फोहोर व्यवस्थापन सहज हुने बताउनुहुँदै प्रविधिबाट बढीभन्दा बढी लाभ हासिल गर्नुपर्ने धारणा राख्नुभयो ।
रिकीशी कम्पोष्ट आयोजनाका प्रबन्ध निर्देशक उषा गिरीले भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै भक्तपुर नपाले फोहोर व्यवस्थापनमा गर्दै आएको काम निकै सराहनीय भएको बताउनुभयो ।
प्रमाणपत्र वितरण कार्यक्रममा कार्यपालिका सदस्य एवम् वातावरण तथा पर्यटन समितिका सदस्यद्वय सुनिता अवाल र सरिना द्योलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षकको तर्फबाट सुरोज श्रेष्ठ, प्रशिक्षार्थीको तर्फबाट रमेश त्वी त्वी र रमिता तमखूले पनि तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै लाने र तालिमको उपादेयताबारे जानकारी दिनुभयो ।
सोही अवसरमा प्रमुख प्रजापतिले ‘जापानिज सी.एन.बी.एम. प्रविधिबाट प्रा·ारिक मल’ बनाउने तालिमका सहभागी प्रशिक्षार्थी र रिकिसी संस्थालाई प्रमाण वितरण गर्नुभएको थियो ।