रगतको माग बढ्दो, दैनिक १५० यूनिट वितरण

भक्तपुर, बैशाख ९ गते
रक्तसञ्चार सेवा केन्द्र भक्तपुरमा रगतको माग बढि रहेको छ । लक डाउनको समयमा पनि भक्तपुर रक्त सञ्चार सेवा केन्द्रमा दैनिक १५० यूनिट भन्दा बढी रगत माग हुँदै आएकोे छ । दैनिक रगत वितरणका लागि आवश्यक रगत पनि संकलन भइरहेकोले अहिलेसम्म अभाव नभएको केन्द्रले जनाएको छ । लक डाउनको बेला विरामीको उपचारको लागि रगत आवश्यक भए भक्तपुर आउन रक्त सञ्चार सेवा केन्द्र भक्तपुरले आग्रह पनि गरेको छ । लक डाउनको बेला काठमाण्डौ उपत्यकाका विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा रगत संकलन कार्य दैनिक भइरहेकाले कही कतै रगत नपाए भक्तपुर आउन आग्रह गरिएको हो । लक डाउनको समयमा काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचारत विरामीका आफन्तहरुलाई रगतको जोह गर्न समस्या भए भक्तपुर रक्त सञ्चार सेवा केन्द्र दुधपातीमा आउन आग्रह गरेको छ । रगत नपाई कोही पनि मर्न नपरोस् भन्दै रगत चाहिए भक्तपुर आउनुस् भने उद्घोषका साथ रक्त सेवा चुस्त बनाउन रक्तसञ्चार सेवा केन्द्र भक्तपुरले लक डाउनको समयमा पनि घरदैलो पुगेर रगत संकलन कार्य जारी राखेको छ । चैत्र ११ गते देखि अहिलेसम्म उपत्यका ६० भन्दा बढी ठाउँबाट २ हजार ५ सय ६२ यूनिट रगत संकलन गरिसकेको छ भने सो अवधिमा ३ हजार २ सय ९९ यूनिट वितरण गरेको केन्द्रका प्राविधिक प्रमुख उत्तम कुस्माले जनाएको छ । लक डाउनमा रगत संकलन कार्य सामान्य समयमा भन्दा बढी सर्तक भएर प्राविधिकहरु दिनहुं खति रहेको भन्दै उहाँले हाल देनिक १५० यूनिट रगत वितरण समेत भइरहेकोले रगत संकलन कार्यलाई पनि निरन्तर जारी राख्न आवश्यक भएकोमा जोड दिनु भयो । कोरना भाइरस रगतबाट संक्रमण भन्दा हाछ्युं गर्दा र्याल, ठुक वा संक्रमितले छोएका चिजहरुमा छुँदा सर्ने भएकाले रक्तदान कार्यक्रम गर्दा अनिर्वाय रुपमा भौतिक दुरी भने कायम गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।