भक्तपुर, माघ २० गते
जमिन देखि छानासम्म चर्केको विश्व प्रसिद्ध पाँच तले मन्दिरको अवस्था हेर्दा जोकोही झस्किन सक्छ । मन्दिरका हरेक तलाहरुमा केही नकेही चर्केको छ, बिग्रेको छ । भूकम्पपछि पाँचौ तलामा बढी क्षति पुर्याएको भनिए पनि यति बिस्तृत अध्ययन सार्वजनिक भएको थिएन जति सोमबार भक्तपुर नगरपालिकाले सो मन्दिरको भित्रि र बाहिरी भागहरुमा भूकम्पले पारेको प्रभाव र असर बारे तस्विर सहित प्रस्तुत गरे । सबैको गर्व गर्नेे सम्पदाको रुपमा आत्मसाथ गरी रहेको पाँच तले मन्दिरको यो जिर्ण अवस्थाले मनमा अनेक प्रश्न उठाउँछ । भूकम्पको बेला आफ्नो घर भत्किए पनि पाँच तले मन्दिर त भत्किएको छैन नि भनि स्वाभिमान बोकेको यो मन्दिर भित्र भित्रै धेरै ठाउँमा चर्केको देख्दा, बुढो भएको देख्दा भविष्यमा आउने भूकम्पले पूरै भत्काउनेमा कुनै सन्देश देख्दैनन् । पाँच तले मन्दिरका तस्विरहरु नियाल्दा हामीलाई पनि यस्तै लाग्छ । के साँचै कमजोर भएका हुन त? पाँच तले मन्दिर ? हजारौ पराकम्पहरु झैल्दै भूकम्पपछिको पाँचौ वर्षमा जिर्णोद्धारको तयारीमा छ, पांच तले मन्दिर । भैलख जस्तै काठको फ्रेमले पाँच तले मन्दिर पनि ठडि रहेको सांसद प्रेम सुवालको थम्याइ छ । यो भनाईले पाँच तले मन्दिर अझै युगौंसम्म जीवन्त रहने विश्वास जाग्छ । २०५२ सालमा केही थप परम्परागत शैलीबाट मर्मत भएकाले २०७२ सालको बिनासकारी भूकम्पले पनि सुरक्षित भएको विज्ञहरुको मत भने कायमै छ । भूकम्पको प्रभाव र असर तथा जिर्णाेद्धारमा मौलिक शैली र प्रविधि बारे सोमबार समीक्षा गर्दै भक्तपुर नगरपालिकाले विज्ञहरुको मत संकलन गर्नेक्रममा सो मन्दिरको अवस्था बारे विस्तृत जानकारीमा आएको हो । मन्दिरका गाह्रो चर्के पनि इटा नटुक्रिएको, थामहरु नबिग्रिएका कारण संसारभरका सम्पदा प्रेमीकालागि पाँच तले मन्दिरको सम्रचना अध्ययन र सिकाइका लागि उदारण बनेको छ ।त्यसैले चर्केका ठाउँहरु पनि ताल्ने परम्परागत शैली मास, चाकु, सिलाजित, कपास, तेल लगायतको प्रयोगबाट जाय्गुलेगु प्रविधिका बारेमा पनि चर्चा हुन थालेको छ । ६५ लाख लागत इष्टिमेटमा गत कार्तिक महिना देखि जिर्णोद्धारका लागि खत बाढ्न थालेको पाँच तले मन्दिरको अवस्था र जिर्णोद्धारका लागि भएका प्रयास बारे जानकारी दिन आज सरोकारवाला निकायसँग छलफल गरेका हुन ।

३ सय १८ वर्ष पुरानो विश्व सम्पदा सूचीमा सूचीकृत पाँच तले मन्दिरको जिर्णोद्धारका लागि ख्वप इन्जिनियरिग कलेजले गरेकोे अध्ययनको प्रस्तुतीकरणसँगै पाँच तले मन्दिरको बनौट, संरचना र भूकम्पको प्रभाव र असर बारे छलफल गरेका हुन । राजा भूपतेन्द्र मल्लले बनाएको सो मन्दिरमा बि.सं. १९९०, २०४५ र २०७२ सालको बिनाकारी भूकम्पहरुले पुर्याएको प्रभाव, असर तथा क्षतिहरुका लेखाजोखा गर्दै मौलिक शैलीमै गुणस्तरीय रुपमा जिर्णोद्धार गर्न सोमबार नगरपालिकाको सभाकक्षमा विज्ञमत संकलन गरेको हो । घाम,पानी, हावाले सम्पदाको सम्रचनाको आयु घट्ने भएकाले नियमित मर्मत सम्भार गरी रहनुपर्नेमा जोड दिन्दै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सो अवसरमा भूकम्पीय जोखिमको दृष्टिकोणमा नेपाल विश्वमा ११ औं स्थानमा रहेको मर्मलाई आत्म साथ गर्दैै पाँच तले मन्दिरको जिर्णोद्धार गर्नुपर्ने बताउनु भयो । भूकम्पले पाँच तले मन्दिरका गाह्रोहरुमा चिरा पारे पनि काठले बनेको सम्रचनामा असर नपारेकोले अहिलेसम्म ठडि रहेको विचार व्यक्त गर्नु हुँदै गाह्रोको इटा बिग्रियो भनेर आति हाल्न नपर्ने बताउनु भयो । सम्पदा निर्माण काठकैबाट हुनु राम्रो र बलियो हुने भदै सांसद सुवालले बिगत २०।३० वर्ष देखि सम्पदा निर्माणका लागि गुणस्तरीय काठको अभाव भइरहेको उल्लेख गर्नु भयो । सिमेन्टको प्रयोगमा सुधार गरी बज्रबाटै पाँच तल्ले मन्दिरको जिर्णोद्धार उपभोक्ता समितिबाट गर्नु प्रभावकारी हुने बिचार राख्नु भयो । उपभोक्ता समितिबाट हुने काम गुणस्तरीय, किफायत, इमान्दारी र पारदर्शि हुने विश्वास व्यक्त गर्दै सांंसद सुवालले राम्रो योजना एउटा कार्यान्वयन गर्न विस्तृत अध्ययन, इतिमेटको नाममा वर्षौ लगाउने गरेको परिवेशमा ५४ दिनमा पेटी बनाउनु र ६ महिनामा पूरा पाँच तल्ले मन्दिर बनाउने पुर्खाको सिपकोे पाठ सिक्नु पर्ने बताउनु भयो । पुर्खाले सम्पदा निर्माणसंगै संरक्षणको लागि आयस्ता पनि राखेको भन्दै त्यसको सम्पदा संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो | तन्त्र विधिलाई भौतिकवादी व्याख्या गरी अन्धविश्वास हताउनुपर्ने विचार राख्दै सांसद सुवालले तन्त्रको नाममा जनता थग्न दिन नहुने बताउनु भयो । उहाँले सम्पदाको साँस्कृतिक, बास्तुकला, इतिहास, र सभ्यताको बारेमा दस्ताबेज बनाउन आग्रह गर्नु भयो ।
नगरप्रमुख सुनिल प्रजापतिले विज्ञहरुको सल्लाह, सुझाब नलिइ जिर्णोद्धारका केही नगर्ने बताउँदै भैरवनाथको मन्दिर जिर्णोद्धारमा जस्तै पाँच तले मन्दिर निर्माणमा पनि विज्ञहरु र अन्य व्यवस्थापन समितिहरु गठन गरी व्यापक छलफल पश्चात अभिलेखिकरण गरी निर्माण कार्य थाल्ने बताउनु भयो । नगरपालिकाले गरेको अध्ययन र दस्तावेजहरुलाई भक्तपुर मासिक, ख्वप पौं पाक्षिक र फेसबुकहरु मार्फत सार्वजनिक गरिरहेको उल्लेख गर्दै पाँच तले मन्दिरको जिर्णोद्धारमा कामदारको सुरक्षाकालागि आवश्यक तयारी गरेको भएपनि कामदारहरु आफ्नो सहजता अनुसार खति रहेकाले सुरक्षा चुनौति देखिएको बताउनु भयो । मन्दिरको माथिल्लो तलासम्म खत बांदी सक्दा थप सुरक्षा चुनौति महसुस गर्दै २४ अैं घण्टा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको बताउनु भयो ।
विशाल संसारमा सानो भक्तपुर जिल्लाको सुन्दर डातापोलको नाम बिर्गान नहुनेमा जोड दिन्दै प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सम्पदा जिर्णोद्धारमा कुनै पनि कमिकमजोरी गर्न नहुनेमा जोड दिनु भयो । भूकम्पले पाँच तले मन्दिरमा पुर्याएको क्षति बारे अध्ययनले देखाए जस्तो क्षति हुने आफूले अनुमान नगरेको भदै सांसद गोसाईले पाँच तले मन्दिर जिर्णोद्धार किन गर्दै छौं? भने कुरा व्यापक जनताको बीचमा पुर्याउनुपर्नेमा जोड दिनु भयो ।
पुरातत्व विभागका पूर्व कार्यकारी अधिकृत विष्णुराज कार्कीले पुर्खाले दिएको उपहार पाँच तले मन्दिरको जिर्णोद्धारको अध्ययन सान्दर्भिक र राम्रो भएको विचार राख्दै पुनर्निर्माण तिब्र हुँदैमा राम्रो मान नसकिने बताउनु भयोे । पुनर्निर्माणले भविष्यमा पार्न सक्ने प्रभावहरुको पनि विशेष अध्ययन हुनुपर्ने धारणा राख्दै उहाँले सम्पदाको उचाई र प्रविधि सबै भन्दा बहत्वपूर्ण हुने उल्लेख गर्दै विज्ञहरुको मत लिएर मौलिक संबेदनशिलतालाई ध्यान दिनुपर्ने बताउनु भयो । भूकम्पको प्रभाव कहिले देखिको हो यकिन नभएको बताउँदै मन्दिरको सहनशिलता कति छ?भने विषयमा पनि अध्ययन गर्न आवश्यक भएको बताउनु भयो । प्राध्यापक सुदर्शनराज तिवारीले सो अवसरमा अध्ययन जिर्णोद्धारको लागि प्रर्याप्त नभएको जिर्णोद्धार थाल्न यसको सम्रचनाको पनि अध्ययन गर्नुपर्ने बताउनु भयो । माथिलो दुई तल्ला भुकम्पले घुमाएको मुनिको तीन तल्ला नघुमेको भन्दै मन्दिर बन्दनहरुको विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिनु भयो । छानाको माटो मोटाई घटाउने भन्दा सन्तुलनमा ध्यान दिनुपर्ने भन्दै उहाँले तारपेनको प्रयोग १०।१५ वर्षपछि बिग्रने भएकाले सम्पदा निर्माणमा त्यसको प्रयोग उपयुक्त नभएको विचार राख्नु भयो । शास्त्रमा लेखिएका कुरा परम्परागत रुपमा कसरी विकास भएको छ ? सो बारे पनि अध्ययन हुनुपर्नेमा उहाँको जोड थियो । माथिल्लो तलाको बन्दन र जोडाइ बलियो भयो भने तल्लो तल्लाको बिर्गान सकिने कुरामा पनि सचेत हुन उहाँको आग्रह थियो । गुठी संस्थान केन्द्रीय कार्यालयका प्रतिनिधी हरिप्रसाद सुवेडीले पाँच तले मन्दिरको अध्ययन प्रतिवेदन डाक्टरले विरामीको डायलोसिस गरे जस्तै विस्तृत र महत्वपूर्ण लागेको उल्लेख गर्दै परम्परागत पूजाकर्मलाई पनि ध्यान दिनुपर्ने बताउनु भयो भने दरवार हेरचाह तथा संरक्षण कार्यालय भक्तपुरका प्रमुख मोहन सिं लामाले पाँच तले मन्दिरको जमिन देखि छानासम्म भूकम्पले चर्काएकाले यसको सुधार गर्दै भैरवनाथको मन्दिरलाई जस्तै मजबुदिकरण गर्नुपर्नेमा जोड दिनु भयो ।
भक्तपुर नगरपालिकाले सम्पदा निर्माणमा हौसला बढाउने किसिमले राम्रो काम गरेको उल्लेख गर्दै संरक्षणविद् भरत शर्माले समुदायमै पुगेर जवाफदेहीताका साथ काम गर्नुपर्ने तर बति मुनी अध्यारो र बैशाखी टेकेर हिड्नु भन्दा आफ्नै हनुमान जन्माउनुपर्नेमा भन्दै भक्तपुर नगरपालिकाले त्यो काम गरिरहेको बताउनु भयो । सम्पदा निर्माण हतार हतारमा गर्न नहुने भन्दै उहाँले प्रकृयागतरुपमा गर्नुपर्ने विचार राख्नुभयो । पाँच तले मन्दिरका पूजारी तथा प्रध्यापक सिद्धिबीर कर्मचार्यले पाँच तले मन्दिरको माथिलो भाग मात्र जिर्णोद्धार गरेर नपुग्ने कम्तिमा दुईतलाको पुननिर्माण हुनुपर्नेमा जोड दिन्दै पाँच तले मन्दिरको जिर्णोद्धारसँगै यसका पर्वहरु पनि चलाउने व्यवस्था गर्नुपर्ने बताउनु भयोे । उहाँले आफ्नो हनुमानलाई सबैले हेप्ने गरेको भन्दै जिर्णोद्धारका लागि गरेको अध्ययन ९० प्रतिशत मात्र भएको १०० प्रतिशत नभएको जिकिर गर्नु भयो । पूर्व न्यायधिश गौरीबहादुर कार्कीले भक्तपुरका प्रत्येक सम्पदाको अध्ययन गरी प्रोफाईल बनाउन आवश्यक भएको भन्दै नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेसँग समेत आफूले सम्पदा संरक्षण सम्बन्धि छलफल गरेको स्मरण गर्नु भयो । नेपाली कला कृतिहरु र प्रविधि विदेशीहरुमा पुगेकाले चाहिने बेला पछि विदेशीबाटै किनुपर्ने अवस्था आउन सक्ने भएकाले भविष्यसम्म तिकाउ हुने गरी निर्माण र संरक्षण गर्न आग्रह गर्नु भयो ।
सम्पदा जिर्णोद्धार र संरक्षणमा फरक मत राख्दै महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक सविन प्रधानले इतिहास, संस्कृति र परम्परासँग जोडिएको सम्पदाहरु अत्यन्त महत्वपूर्ण हुने भएकाले यसको सरक्षामा कंचुस्याई गर्न नहुनेमा जोड दिनु भयो । पाँच तले मन्दिरको जिर्णोद्धार कार्यमा कामदारहरुले सुरक्षित व्यवहार नगरेकोमा ध्यानाकर्षण गराउनु भयो । हेल्मेट लगाएर खत बाड्नुपर्नेमा ढाका टोपी लगाएर काम गरी रहेको देख्दा सुरक्षाको चुनौति मसहुस गरेको बताउनु भयो । कार्य मापदण्ड बनाएर सुरक्षित सम्पदा निर्माणमा जुत्न सकियो भने हुन सक्ने दुर्घटनाबाट बच्न सकिनेमा ध्यानाकर्षण गराउनु भएको होे । मन्दिरबाट झिकेका प्रत्येक झिंगति, ईटा र निर्माण सामग्रीको चोरी तथा दुरुपयोग हुन सक्ने भएकाले सम्पदा निर्माणमा सुरक्षा व्यवस्था कडाइ गर्न आवश्यक भएमा जोड दिनु भयो । चोरी हुन्छ भनि पर्खाल बनाउनेपर्नेमा पर्खाल नै नबनाउने होइन भन्दै एसपी श्रेष्ठले सम्पदा क्षेत्रको सुरक्षाका लागि विशेष सिसि क्यामेरा जडान गर्न आवश्यक भएको भन्दै निर्माणाधिन क्षेत्रमा नगरपालिकाको आग्रहमा आज देखि दुई जना सुरक्षाकर्मी परिचालन थालेको बताउनु भयो ।

इतिहासकार एवं प्राध्यापक डाक्टर पुरुषोतम लोचन श्रेष्ठले पाँत तले मन्दिरको अध्ययन प्रतिवेदन हेर्दा आफूलाई ढुक्क हुने अवस्था नभएको महसुस गराएको बताए । यद्यपी अध्ययन महत्वपूर्ण रहेको भन्दै उहाँले पाँच खुत्कीला माथिका पाँच तल्लै ध्वंस्त हुनेमा सन्देश नहुने गरी अध्ययनले केलाएको विचार राख्नु भयो । मन्दिरको जमिन सतहमा पनि चिरा परेकोमा ध्यान नपुगेको उल्लेख गर्दै इतिहासकार श्रेष्ठले मन्दिर आसपासबाट बगि रहेको पानी र भूकम्पले पारेको चिरा थप जोखिम रहेको औल्याउनु भयो । पाँच तले मन्दिर भित्रको सिद्धिलक्ष्मि गोप्यरुपमा स्थापना भएकाले यसको संस्कार जनजीवनसंग नजोडिएको हुन सक्ने उहाँले औल्याउनु भयो । पाँच तले मन्दिरको जिर्णोद्धारमा पर्याप्त ध्यान नपुगे भैरवनाथ मन्दिरको जस्तै हुन सक्नेमा सचेत पार्नु भयो । ख्वप इन्जिनियरिग कलेजका प्राध्यापक मन्दिप शाक्यले पाँच तल्ले मन्दिरको सम्रचना, प्रविधि तथा भारबहन,को अवस्था बारे सन् २००२ र २०१५ बीच गरेको अध्ययनले यसको फ्रिक्वेन्सीमा परिवर्तन आएको देखिएकाले विस्तृत अध्ययन गर्न आवश्यक भएको उल्लेख गर्दै अध्ययन गर्न थप समय आवश्यक हुने विचार राख्नु भयो ।
सो अवसरमा ख्वप इन्जिनियरिगं कलेजका विद्यार्थी र प्राविधिकहरुले भूकम्पपछि पाँच तले मन्दिरको भूई देखि गजुरसम्मको अवस्था बारे गरेको विस्तृत अध्ययन प्रतिवेदन आर्किटेक्चलर रविना सिल्पकारले गरेका थिए भने भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले धन्यवाद ज्ञापन गर्दै पुर्खाले सृर्जेको सम्पति हाम्रो कला र संस्कृतिको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने दायित्व निर्भाइ रहेको बताउनु भयो । आन्तरिक स्रोत साधनबाट मौलिक शैली र सिपबाट आफ्नो खुटामा आफै उभिन सकिने गरी पाँच तले मन्दिरको प्राविधिक सम्रचना बारे थप अध्ययनमा सहभागिहरुले जोड दिएको उल्लेख गर्दै सम्पदा जिर्णोद्धारमा विज्ञहरुको सल्लाह सुझाब र प्रतिकृयालाई मनन गरिरहेको बिचार राख्नु भयो । भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्यख्वाले सो कार्यक्रम संचालन गरेका हुन् |














