प्रतिस्पर्धी भावनाका साथ जागरुक नगरवासी बनाउने भनपा प्रमुख प्रजापतिको योजना


भक्तपुर नगरको समाज पढ्दै, लेख्दै, सिक्दै, सरसफाईबाट सचेत हुँदै विकास भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनु भएको छ । भक्तपुर जिल्ला व्यापी अन्तर सहकारी बुद्धिचाल प्रतियोगिताका विजयी खेलाडी र सहकारी संस्था तथा खेलाडीहरुलाई आईतबार मेडल तथा पुरस्कार एवं प्रमाण पत्र वितरण गर्दै उहाँले प्रतिस्पर्धी भावना जगाउन विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनु भयो । कलेज पद्न काठमाण्डौमा जानुपर्ने अवस्था र डेरामै बसेर पढ्नुपर्ने बाध्यताबाट अहिले मुक्त भएको भन्दै नगर प्रमुख प्रजापतिले ख्वप इन्जिनियरिग कलेज देशकै उत्कृष्ठ कलेज बन्न सफल भएको बताउनु भयो । ख्वप इन्जिनियरिग कलेज र ख्वप कलेज अफ इन्जिनियरिगबाट एउटै परिवारका ६ जनासम्मले पनि इन्जिनियर पढ्ने अवसर पाएको भन्दै भक्तपुर नगरपालिकाले सञ्चालन गरेका कलेजहरुबाट देशभरका बिद्यार्थीहरुले पढ्ने अवसर पाएको बताउनु भयो । नगरवासीहरुले कुनै न कुनै विषयमा निरन्तर अध्ययन गर्नुपर्नेमा जोड दिदै उहाँले अध्ययनले विशेषज्ञता हासिल भई हरेक विषयका ज्ञाता बनेर सेवा गर्नुपर्नेमा जोड दिनु भयो ।


कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष समेत प्रभावित भएको उल्लेख गर्दै चैत्र ४ देखि ८ गते सम्म हुने भक्तपुर महोत्सवको अवसरमा भक्तपुरका प्रत्येक टोल टोलमा स्थानीय जनताको सहभागितामा यहाँको उत्पादन बारा, चतामारी, योमारी समेत प्रदर्शनी गरे पर्यटक वर्ष मनाउने तयारी भई रहेको बताउनु भयो । समाजमा लागुपदार्थ, नक्कली कागजी विहे लगायतका गतिविधीले सन्ततीहरुमा बिकृति फैलि रहेकोप्रति अभिभावकहरु सचेत हुनुपर्नेमा जोड दिनु भयो । नेमकिपाका केन्द्रीय सदस्य समेत रहेका भक्तपुर नगरपालिकाका मेयर प्रजापतिले नगरवासीहरुलाई हिनताबोध नहुने गरी सधै जागरुक रहन खेलकूल र साँस्कृतिक गतिविधीलाई निरन्तरता दिइरहेको बताउनु भयो । टोल टोलमा ब्यायाम शाला स्थापना गरी नगरवासीको शारीरिक र मानसिक स्वस्थताकोलागि खेलकूदमा लागि रहनुपर्ने विचार राख्नु भयो ।


३१ जना विभिन्न सहकारीको तर्फबाट प्रतियोगितामा सहभागि भएका खेलाडीहरु बीच शुक्रबार र शनिवार प्रतियोगिता जेला पाटी परिसरमा आयोजना भएको थियो । सो प्रतियोगितामा भक्तपुर साकोसका बिक्रम चोकामी प्रथम भएका थिए भने उपविजेतामा भक्तपुर साकोसकै बिजय जति र तेस्रोमा बिक्रम जति भएको थिए । उहाँहरुले ६,६ र ५।५ स्कोरका साथ पहिलो, दोस्रो र तेस्रो हुन सफल भएका थिए । फिडे रापिड रेतिग प्रणालीबाट खेलाइएकोे सो प्रतियोगिता श्वेतभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेड जेला भक्तपुरले आयोजना गरेको थियो । टपटेन खेलाडीहरुलाई नगद र मेडल सहित पुरस्कृत गरिएको सो कार्यक्रममा वडाध्यक्ष महेन्द्र खायमली, रेफ्रि निराजन प्रजापति, युवा समिति भनपा ९का लक्ष्मिप्रसाद दुवालले श्वेतभैरव साकोसले आयोजना गरेको बुद्धिचाल प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै सहकारी संस्थाले बुद्धिचाल जस्तै विभिन्न कार्यक्रमहरु आयोजना गरी रहेको र गर्दै जानुपर्नेमा जोड दिनु भयो । संस्थाका अध्यक्ष रामप्रसाद खायमलीको सभापतिमा र मेन्सन लाखेमरुले संचालन गरेको सो पुरस्कार बितरण समारोहमा खेल रेफ्रिहरुलाई पनि प्रमुख अतिथि प्रजापतिले प्रशंसा पत्र वितरण गर्नु भएको थियो ।