पोखरा स्पोर्ट्स | पोखरा–८ सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयद्वारा आयोजित यू–१४ सेभेन ए साइड फुटबल तथा खुला टेबल टेनिस प्रतियोगिता आज चैत २८ गतेदेखि भव्य रूपमा सुरु भएको छ। विद्यालयको आफ्नै खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा पहिलो दिन ३२ टोलीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन समारोह विद्यालयका संस्थापक अध्यक्ष श्री शेर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि श्री तेज बहादुर गुरुङ रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा संस्थापक प्रिन्सिपल पम्फा गुरुङको उपस्थिति रहेको थियो।


कार्यक्रममा नयाँ व्यवस्थापन समितिका सदस्य तथा शिक्षाविद् पदम बास्ताकोटीले स्वागत मन्तव्य व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका स्कुल कोर्डिनेटर दुर्गा पौडेलले गर्नुभएको थियो।
अध्यक्षीय मन्तव्यका क्रममा श्री शेर बहादुर गुरुङले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र टिमवर्क विकास गर्ने उल्लेख गर्दै विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख अतिथि श्री तेज बहादुर गुरुङले खेलकुदमार्फत विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र स्वस्थ प्रतिस्पर्धा विकास हुने बताउँदै यस्ता कार्यक्रमहरूको प्रशंसा गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि पम्फा गुरुङले विद्यालयले विगतदेखि नै खेलकुदलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै भविष्यमा अझ उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो।
आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत भोलि चैत २९ गते सेमिफाइनल तथा फाइनल खेलहरू सम्पन्न गरिनेछन्। साथै, टेबल टेनिसतर्फको फाइनल खेल पनि भोलि नै हुने जानकारी दिइएको छ।
यस प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको विकास गर्न टेवा पुर्याउने विश्वास गरिएको छ।














