महिला रेडियोकर्मीको भेला धादिङमा

‘विविधता, बहुलता र लैङ्गिक समानता, सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम धादिङमा सुरु भएको छ । धादिङको गल्छि गाउँपालिकाको बैरेनीमा आजबाट सुरु भएको सम्मेलनमा सामुदायिक प्रसारणमा महिलाको सहभागिता र सवालका विषयमा छलफल हुनेछ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले गरेको राष्ट्रिय परामर्श कार्यक्रममा देशभरका ३ सय ५० भन्दा बढी रेडियोका १ सयभन्दा धेरै रेडियोकर्मी, पत्रकार, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रम उद्घाटन गर्दै राष्ट्रियसभाका उपाध्यक्ष दाहालले सामुदायिक रेडियोले सूचना र सञ्चारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै नेतृत्व विकास र महिला सहभागिताको लागि आजबाट सुरु भएको छलफल कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महिलाहरूले समाजमा सम्मानजनक पद र भूमिका पाउन नसकेको उल्लेख गर्दै महिलाको भूमिकालाई पुरुषहरूले नै हस्तक्षेप गरेको टिप्पणी उपाध्यक्ष दाहालले गर्नुभयो । उहाँले सामुदायिक रेडियोले महिलाहरूको भूमिका विस्तारमा सघाउन सक्ने धारणा राख्नुभयो । समाजमा रहेका बोक्सी, छाउपडी, तिलक जस्ता कुप्रथाहरूका कारण महिलाहरूमा परेको समस्या सञ्चार माध्यमले उठाएर यस्ता समस्या हटाउनमा सहयोग पु¥याउन सक्ने भएकाले यस्ता विकृतिका विरुद्ध आवाज उठाउन रेडियोहरूलाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रमको उद्घाटनशत्रमा अकोराबका अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोको नेपालमा रहेको वर्तमान अवस्थाको विषयमा जानकारी गराउँदै सामुदायिक रेडियो आवाजविहीनको आवाज भएको बताउनुभयो । सामुदायिक रेडियोमा महिलाको सहभागिता कस्तो छ र समुदायमा महिलाहरूको सहभागिता कस्तो छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष खतिवडाका अनुसार समाजमा महिलाको अवस्था, महिलाको हकमा सामुदायिक रेडियोले कस्तो भूमिका निर्वाह गरेको छ लगायतका विषयमा छलफल गरी कार्यक्रमबाट निचोड निकालिनेछ । कार्यक्रममा गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले महिलाको हकमा सामुदायिक रेडियोले खेल्ने भूमिकामा स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले सामुदायिक रेडियोले महिलाको विभिन्न क्षेत्रमा सहभागिताका लागि स्थानीय सरकारसँग समन्वय गरेर महिलालाई प्रतिशतको आधारमा भन्दा पनि सहभागिताको आधारमा काम गर्नुपर्ने धारणा राख्नुभयो । सामुदायिक रेडियोको विश्व सङ्गठन (अर्माक) का एसिया प्रतिनिधि नीमि चौहानले नेपालमा मात्रै नभई एसियामा नै हरेक क्षेत्रमा सहभागिता न्यून रहेकाले यस्ता परामर्श कार्यक्रमले महिला सहभागिता बढाउन सहयोग पुग्ने विचार राख्नुभयो । संकल्प नेपालका अध्यक्ष लिली थापाले महिलाको वर्तमान अवस्था विस्तारै राम्रो हुँदै गएपनि अझै सक्रिय रूपमा सबै क्षेत्रका व्यक्ति लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले महिलाको सवाल स्थापित गर्न नीति र व्यवहारको तालमेल हुनुपर्ने बताउनुभयो । धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सामुदायिक रेडियोहरूले सञ्चारमाध्यमहरुको एकाधिकार तोडेको र आफ्नो गाउँ क्षेत्रको सूचना र जानकारी प्रस्तुत गरेको भन्दै शिक्षा र चेतनास्तर उठाउन सामुदायिक रेडियोले सहयोग पु¥याएको धारणा राख्नुभयो । सामुदायिक रेडियोका अभियन्ता तथा संविधानसभाका सदस्य कल्पना शर्मा चापागाईँले सामुदायिक रेडियो चलाउनमा देखिएको समस्या र चुनौतीहरूको बारेमा कुरा गर्दै सामुदायिक रेडियोले समाजमा खेल्नसक्ने भूमिकाको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा रेडियोकर्मीका साथै सामुदायिक रेडियोका विज्ञहरू, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको छ । आज दिनभरि कार्यक्रममा सामुदायिक प्रसारणमा महिला सहभागिताको चुनौति, महिला सामुदायिक रेडियोका अनुभव आदान प्रदान, सामुदायिक रेडियोमा महिला र प्रविधि, सामुदायिक रेडियोमा महिलाको पहुँचलगायतका विषयमा बहस तथा छलफल भएका छन् । छलफल र बहसका आधारमा निस्किएको निचोडबाट आगामी दिनमा रणनिति बनाउन सजिलो हुने अकोराबले अपेक्षा गरेको छ ।