भक्तपुर नगरपालिकाद्वारा नवनियुक्त प्रजिअसँग परिचयात्मक कार्यक्रम आयोजना गर्दै गर्यो भक्तपुरमा स्वागत
नगर प्रमुख प्रजापतिद्वारा प्रजिअ शर्मालाई स्वागत
भक्तपुर । २०७८ असोज १० गते, आइतबार
भक्तपुर नगरपालिकाले भक्तपुरमा भर्खरै सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँगको परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रजिअ शर्मालाई पुष्पगुच्छा र खादा ओढाई आइतबार नगरपालिकामा स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै सम्पदा पुनःनिर्माणमा विदेशीको सहयोगलाई भन्दा जनताको साथ, सहयोग र अपनत्वलाई प्राथमिकतामा राखी सम्पदाहरुलाई शानका साथ ठड्याएको बताउनुभयो ।
२०७२ सालको भूकम्प र कोभिड महामारीले भक्तपुर नगरको स्वरुप र अर्थतन्त्रमा नराम्रो क्षति पुगेको बताउनुहुँदै उहाँले विपद् न्युनीकरणको लागि भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय गर्दै विभिन्न तालिमहरु आयोजना गरिसकेको अवगत गराउनुभयो ।
नजिकिँदै गरेको बडादशैं र तिहारलगायतका चाडपर्वलाई लक्षित गरी चोरी, तस्करी, हिंसालगायतका अपराध न्युनीकरणको लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाउनुपर्ने आवश्यकताबोध गराउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपा अरु नपाभन्दा पृृथक शैलीबाट अगाडि बढिरहेको छ भन्नुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुहुँदै उहाँले भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्थाहरु सञ्चालन, ख्वप अस्पताल निर्माण र युवा लक्षित तालिमहरु सञ्चालनमा जोड दिँदै आइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षाको हिसाबले भक्तपुरलाई उत्कृष्ट जिल्ला बनाउन आफू प्रतिबद्ध रहेको बताउनुहुँदै आफ्नो कार्यकालमा गुल्मीलाई देशकै तेस्रो वरियतामा पार्न सफल भएको स्मरण गर्नुभयो ।
उहाँले भक्तपुरलाई सुरक्षित जिल्लाको रुपमा अगाडि बढाउनुपर्छ भन्दै जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादनमा भक्तपुर नगरपालिकाबाट साथ, सहयोग र सहकार्य रहनेमा विश्वस्त भएको बताउनुभयो ।
विपद् व्यवस्थापन समितिको बैठक बसी सम्पदा पुनःनिर्माणका बाँकी कार्यहरुलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुहुँदै प्रजिअ शर्माले भक्तपुरमा शान्ति र सुरक्षा कायम गर्न नगरका सबै वडाहरुमा प्रहरीमार्फत समुदाय प्रहरी साझेदारीका कार्यक्रमहरु सञ्चालन भइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई सार्थक बनाउन नगरपालिका सशक्त ढंगले लागि परेको बताउनुहुँदै भक्तपुरलाई ज्ञानविज्ञान र प्रविधिको केन्द्र बनाउन सातवटा शैक्षिक संस्थाहरु सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याइरहेको छ भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुरको ऐतिहासिक पृष्ठभूमिमाथि प्रष्ट पार्नुभयो । भक्तपुर नपाबाट भएका असल र नमुना अभ्यासमार्फत नगरपालिकाले स्वायत्तताको अभ्यास गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त परिचयात्मक कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख तथा नगरपालिकाद्वारा सञ्चालित कलेज प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले प्रजिअ शर्मालाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका महत्वपूर्ण प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।














