दुर्घटना न्यूनीकरणका लागि चालक÷परिचालक प्रशिक्षण कार्यक्रम
भक्तपुर ः
सवारी दुर्घटना र यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ आइतबार भक्तपुरमा चालक÷परिचालकहरुलाई प्रशिक्षण दिइएको छ ।
बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मुख्य प्रायोजन, भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर जिल्ला यातायात समन्वय समिति र भक्तपुर इँटा उद्योग व्यवसायी संघको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । भक्तपुर उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन भएको चालक÷परिचालक प्रशिक्षण कार्यक्रममा ९० जना चालक तथा परिचालकहरु सहभागी भएका थिए ।


कार्यक्रममा भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले नेपालमा हुने अधिकांश दुर्घटना चालकहरुका कारण हुने गरेको भन्दै चालकहरु सचेत हुनुपर्नेमा जोड दिइन् । नेपाल सरकारले दिगो विकास लक्ष्यअन्तर्गत लिएको सन् २०३० सम्ममा सडक दुर्घटना मृत्यु र घाइते दरलाई ५० प्रतिशतमा झार्ने लक्ष्यलाई सफल बनाउन चालकहरुको भूमिका महत्वपूर्ण रहेकोले जिम्मेवार भएर सवारी साधन चलाउन अनुरोध गरिन् ।
बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाले दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरुमा जिम्मेवारीबोध हुनुपर्ने बताए । सवारी चालक, सहचालक, यात्रुहरु सबै जिम्मेबार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नुका साथै धनजनको क्षति समेत कम गर्न सकिने उनको भनाइ छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले सवारी चालकहरुलाई गन्तव्यमा चाँडै पुग्ने मनसाय मात्र नराखी आफू र अरुलाई समेत सुरक्षित बनाउने गरी सवारी साधन चलाउन आग्रह गर्दै सवारी सम्बन्धी नियम कानुनहरु पालना गरेमा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताए ।
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले दुर्घटना न्यूनीकरणका लागि चालकहरु सचेत, अनुशासित हुनुपर्ने र सवारी साधनको अवस्था समेत राम्रो हुनुपर्नेमा जोड दिइन् । सरकारले सडकसम्बन्धी ठोस कानुन कार्यान्वयनमा कडाइ नगर्दा, सडक मर्मत नगरिँदा, सवारी चालक अनुमतिपत्र दिँदा पु¥याउनुपर्ने तालिम लगायतका विषयमा ध्यान नदिँदा पनि सवारी दुर्घटना हुने क्रम बढेको उनको भनाइ छ ।
कार्यक्रममा भक्तपुर जिल्ला यातायात समन्य समितिका संयोजक रामकाजी भुजू, ट्राफिक प्रहरी कार्यालय भक्तपुरका ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानेलगायतले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई प्रहरी नायव निरीक्षक कृष्ण घलान, स्वास्थ्य बिमा बोर्डमा कार्यरत डा. राम थापा क्षेत्री, सडक दुर्घटना नियन्त्रण विशेषज्ञ दिपक लामिछानेले प्रशिक्षण दिएका थिए । सो अवसरमा संघकी अध्यक्ष धौबन्जाले प्रजिअ श्रेष्ठ र प्रदेश सचिव निरौलालाई मायाको चिनोस्वरुप मयुर झ्याल प्रदान गरेकी थिइन् ।














