भक्तपुर नगरपालिकामा नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण

२०७६ पुस ९ गते, मंगलबार
भक्तपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा शिक्षक सेवा आयोगको सिफारिसमा भक्तपुर नगरपालिकामा पदस्थापना हुनुभएका नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरु स्थायी भएपछि अल्छी हुने धारणा जनमानसमा रहेकोले त्यसलाई हटाएर सक्रिय रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले निजी र सामुदायिक विद्यालयमा विभेद नगर्न भक्तपुर नगरपालिका लागिपरेको विचार व्यक्त गर्नुहुँदै निजी र सामुदायिक विद्यालयमा शिक्षकहरुले काम गर्ने फरक शैलीलाई हटाउनुपर्ने बताउनुभयो ।
विद्यार्थीमार्फत शिक्षकको मूल्यांकन अभिभावकले गर्ने भएकोले शिक्षकले विज्ञको रुपमा कक्षाकोठामा प्रस्तुत हुनुपर्ने विचार प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले नवप्रवेशी शिक्षकले विद्यार्थीको मनोबल वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवम् विद्यालय अनुगमन समितिका अध्यक्ष उकेश कवांले धार्मिकस्थल र पाटीबाट सुरु भएको भक्तपुरको शिक्षा अहिले शिक्षा आर्जन गर्ने उत्कृष्ट गन्तव्य भएको बताउनुभयो ।
प्राध्यापक तथा स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्य सिद्धिरत्न शाक्यले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने कार्यमा नवप्रवेशी शिक्षकहरुले अझ महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।


शिक्षा शाखा भक्तपुर नगरपालिकाका उपसचिव हरिप्रसाद निरौलाले श्क्षिकले विद्यार्थीको भाषा र व्यवहार नबुझेसम्म राम्रोसँग शिक्षण सिकाइ गर्न नसक्ने बताउनुहुँदै विद्यार्थीलाई कुटपिट गरेर अध्यापन गराउन नहुनेमा जोड दिनुभयो ।
नवप्रवेशी शिक्षकहरुको परिचयबाट सुरु भएको कार्यक्रममा शिक्षा शाखा भक्तपुर नगरपालिकाका स्रोत व्यक्ति कृष्णप्रसाद कर्माचार्यले शिक्षक आचारसंहिताको विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।