नेपाल मानव अधिकार संगठन भक्तपुरको ११ औँ जिल्ला सम्मेलन सम्पन्न, जेनी किरण बासुकलाको सभापतित्वमा नयाँ कार्यसमिति चयन
भक्तपुर । नेपाल मानव अधिकार संगठन, जिल्ला शाखा भक्तपुरको ११ औँ जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ। सूर्यविनायक नगरपालिका–८, सिपाडोल जगातीस्थित क्लब बागमतीमा आयोजित सम्मेलनले आगामी ३ वर्षे कार्यकालका लागि जेनी किरण बासुकलाको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवगठित कार्यसमितिको उपसभापतिमा संजय गसी श्रेष्ठ, सचिवमा रोहित मानन्धर, सहसचिवमा रोशन तजले र कोषाध्यक्षमा रामप्रसाद प्रजापति चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा राजेशमान मानन्धर, राम बैद्य, बिष्णु खड्का, राजेश भोयद्यो, शौरभ बज्राचार्य, हसिना लवजु, प्रतिभा मोक्तान र धनकृष्ण प्रजापति रहनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं संगठनका केन्द्रीय अध्यक्ष अधिवक्ता इन्द्रप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै वक्ताहरूले मानव अधिकारको संरक्षण, संवर्द्धन र नागरिकको न्यायिक पहुँचका लागि संगठनले सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
निर्वतमान सभापति अधिवक्ता रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा मानव अधिकार कानुनविद् अधिवक्ता हरिराम लवजु, संगठनका केन्द्रीय कोषाध्यक्ष टीका डाँगी, बागमती प्रदेश संयोजक राजु सिग्देल, संस्थापक सभापति एवं सल्लाहकार योगेन्द्रमान बिजुक्छे, पूर्व माननीय जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, नेपाल बार एसोसिएसन भक्तपुर इकाइका अध्यक्ष रामसुन्दर खाइतू, विश्व मानव अधिकार संरक्षण संगठन नेपालका अध्यक्ष भरतबहादुर खड्का, संगठनका सिन्धुपाल्चोक सभापति राजेन्द्रमान ताल्चाभडेल, काठमाडौं उपसभापति रूपक फुँयाल, ललितपुर सभापति विप्लव भट्ट, मानव अधिकार प्रतिष्ठान भक्तपुरका अध्यक्ष सानुराजा कार्की र एम्नेस्टी इन्टरनेसनल नेपाल समूह १७ की संयोजक सुनिता बासुकलालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
बन्द सत्रमा निवर्तमान सचिव जेनी किरण बासुकलाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। जिल्ला सल्लाहकार विश्वमोहन जोशीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य काशीराम प्रजापतिले गर्नुभएको थियो।













