प्रभात माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूद्वारा ‘पेसा कप २०८३’ आयोजना हुँदै

प्रभात माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूद्वारा ‘पेसा कप २०८३’ आयोजना हुँदै

भक्तपुर — प्रभाव गुठीद्वारा सञ्चालित प्रभात माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको समूहले ‘पेसा कप २०८३’ आयोजना गर्ने भएको छ। असोज ३१ र कात्तिक १ गते गरी दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजक समितिले आज एक पत्रकार सम्मेलनको आयोजना गरेको हो।

समुदायको लागि समुदायद्वारा नै सञ्चालित प्रभात स्कूलमा विक्रम संवत् २०५४ देखि २०८३ सम्म अध्ययन गरेका पूर्व विद्यार्थीहरूले यस पेसा कपमा सहभागिता जनाउने प्रभात गुठीका सदस्य एवं खेल प्रशिक्षक मुना बासुकलाले जानकारी दिनुभयो। प्रभात स्कूलमा अध्ययन गरी हाल विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरूबीच आपसमा परिचय गराउने र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो।

पेसा कप आयोजक समितिका संयोजक निराजन दुवालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पूर्व विद्यार्थी सुबिन सितिखु र रिजन अवालले प्रतियोगिताको तयारीबारे स्पष्ट पार्नुभएको थियो। उहाँहरूका अनुसार हालसम्म १६ वटा टिमको सहभागिता सुनिश्चित भइसकेको छ भने महिला खेलाडीहरूका लागि पनि छुट्टै प्रतियोगिता गराउने गरी टोली दर्ताको कार्य भइरहेको छ।

पेसा कपले हरेक वर्ष बडादसैँ (विजया दशमी) को अवसरमा शुभकामना आदानप्रदानका साथै फुट्सल प्रतियोगिता आयोजना गर्दै आएको छ।