खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह ललितपुरबाट पक्राउ
भक्तपुर। डिजिटल वालेट ‘खल्ती’ को आधिकारिक कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने चार जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। विभिन्न मोबाइल नम्बरहरूबाट फोन गरी स्क्रिन सेयर गर्न लगाउने र ओटीपी (OTP) कोड मागेर बैंक तथा वालेट खाताहरूमा अनधिकृत पहुँच पुर्याई रकम ट्रान्सफर गर्ने कार्यमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यही असोज २१ गते अपराह्न करिब ४:०० बजे ललितपुर महानगरपालिका वडा नं. २८ हात्तीबनस्थित ‘मेरो सिटी अपार्टमेन्ट’को १३औँ तल्ला (कोठा नं. TE/1305) मा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने व्यक्तिहरू: १. सुभम कुमार झा (२३ वर्ष) – स्थायी घर: ईसनाथ न.पा.-०३, रौतहट (हाल: हात्तीबन, ललितपुर) २. अनिकेत यादव (२० वर्ष) – स्थायी घर: सिम्रौनगढ न.पा.-१०, बारा (हाल: हात्तीबन, ललितपुर) ३. पबन कुमार चौधरी (२२ वर्ष) – स्थायी घर: ईसनाथ न.पा.-०३, रौतहट (हाल: धापाखेल, ललितपुर) ४. रिसी गंगा (२१ वर्ष) – स्थायी घर: गरुडा न.पा.-०१, रौतहट (हाल: धापाखेल, ललितपुर)
पक्राउ परेका आरोपीहरूमाथि अनलाइन ठगीका साथै लागू औषध मुद्दासमेत दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। असोज २२ गते भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे गहन अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) दिपक कुमार कार्कीले जानकारी दिनुभयो।












