आधारभूत विद्यालय समितिको आयोजनामा अन्तर विद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न

आधारभूत विद्यालय समितिको आयोजनामा अन्तर विद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न

असोज १६, भक्तपुर । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा बरदायणी आविको संयोजनमा शुक्रबार अन्तर विद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा आधारभूत विद्यालय समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजन विद्यालयका प्रधानाध्यापक एवम् कार्यक्रमका सभापति कृष्णगोपाल आचार्यले आधारभूत विद्यालय समिति स्थापनाबाट विद्यालयहरू बीच समन्वयसँगै शिक्षकशिक्षिका बीच विभिन्न गतिविधि संचालनमा सहकार्य भइरहेको बताउनुभयो ।

उहाँले आधारभूत विद्यालय समिति भक्तपुरबाट अवकाशप्राप्त शिक्षकशिक्षिकालाई समयसमयमा सम्मान गरिरहेको बताउँदै विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धिका लागि शारीरिक मानसिक, बाैद्धिक क्षमता अभिवृद्धि हुने विभिन्न गतिविधि  संचालन गरिरहेको जानकारी दिनुभयो । प्रतियोगिताका निर्णायक बुद्धिचालका अन्तर्राष्ट्रिय रेफ्री अर्थात् चिफ आर्विटर ज्ञानेन्द्र खाइजुले खेललाई चेससँग जोडेर वैज्ञानिक रूपमा मूल्यांकनका लागि स्वीस लिगबाट खेल संचालन भएको बताउनुभयो । कसिमला पाँय् प्रतियोगिताको पुरुष शिक्षकतर्फ सन्तति आविका सत्यराम कासिछ्वा प्रथम, गणेश माविका कृष्णभक्त केसी द्वितीय, तारा माविका पूर्णप्रसाद थिके तृतीय तथा जनसेवा आविका जीवन सुवाल सान्त्वना भएका थिए । त्यस्तै कसिमला पाँय् प्रतियोगिताको महिला शिक्षकतर्फ गणेश माविका लक्ष्मीशोभा न्याईच्याई प्रथम, बालसेवक आविका बिमला त्योछिन द्वितीय, भीम आदर्श आविका उर्मिला प्रजापति तृतीय तथा नवीन आविष्कार राज्यलक्ष्मी सैंजु सान्त्वना भएका थिए । प्रतियोगितामा विजयी खेलाडी शिक्षकहरूलाई आधारभूत विद्यालय समितिले वार्षिकोत्सबको अवसरमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरि सम्मान गरिनेछ । आधारभूत विद्यालय समिति भक्तपुरमा तीन वटा मावि सहित जम्मा २४ वटा विद्यालयहरू रहेका छन् ।