भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउ
भक्तपुर, १४ असोज ।
विभिन्न मुद्दामा सम्मानित जिल्ला अदालत भक्तपुरबाट सजाय तथा जरिवाना ठहर भई फरार रहँदै आएका ७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती र दधिकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले फैसला कार्यान्वयन अभियान अन्तर्गत खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बैंकिङ कसुर मुद्दाका ३ जना, चेक अनादर मुद्दाका ३ जना र गम्भीर उत्तेजना वा रिसको आवेगमा आई कुटपिट तथा अङ्गभङ्ग मुद्दाका १ जना गरी जम्मा ७ जना रहेका छन्।
पक्राउ परेका प्रतिवादीहरूबाट कुल २ वर्ष १७ दिन कैद र रु. २,६०,२००/- (दुई लाख साठ्ठी हजार दुई सय) जरिवाना असुल हुन बाँकी रहेको थियो।
मुद्दा अनुसारको कैद र जरिवाना विवरण:
- बैंकिङ कसुर (३ जना): १७ दिन कैद र रु. २,५७,५००/- जरिवाना
- चेक अनादर (३ जना): २ वर्ष कैद र रु. २,०००/- जरिवाना
- कुटपिट तथा अङ्गभङ्ग (१ जना): रु. ७००/- जरिवाना
पक्राउ परेका सबै प्रतिवादीहरूलाई कैद भुक्तान तथा जरिवाना असुलीका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा पेस गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (DSP) दीपक कुमार कार्कीले जानकारी दिनुभयो।












