भक्तपुरविकाससहयोगसंघद्वारा सम्मानतथा RN16 टोलीलाई उद्धार सामग्री हस्तान्तरण

भक्तपुर विकास सहयोग संघद्वारा सम्मान तथा RN16 टोलीलाई उद्धार सामग्री हस्तान्तरण

भक्तपुर। भक्तपुर विकास सहयोग संघले फ्रान्सबाट आउनुभएका संघका आजीवन सदस्यद्वय सुमित्रा प्रधान राय र बिध्या बाटाजुलाई सम्मान पत्रद्वारा सम्मानित गरेको छ। विगतदेखि नै संघप्रति पुर्‍याउँदै आउनुभएको सद्भाव, सहयोग र योगदानको उच्च कदर गर्दै संघले उहाँहरूलाई ‘खोपृङ् सम्मान २०८३’ प्रदान गरेको हो।

यसै बीच, आपत्‌विपत् तथा विपद् व्यवस्थापनमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन संघको तर्फबाट RN16 उद्धार टोलीलाई अति आवश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरिएको छ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा:

  • Dynamic Rope (11 mm – ५० मि.): १ थान (इनार तथा खाँच उद्धारका लागि)
  • Seat Harness (BEAL): २ थान (नदी/डाँडामा पुल बनाई उद्धार तथा राहत सामग्री ओसारपसारका लागि)
  • Carabineer Autolock: ४ थान (उचाई तथा पानीमा सेफ्टी लाइन दिन)

कुल रु. ५०,७००/- बराबरका उद्धार उपकरणहरू उपलब्ध गराइएको छ।

कार्यक्रममा RN16 का उद्धारकर्ता एवं उद्धार प्रशिक्षक अरुण सैजुले विगतमा संघले उपलब्ध गराएको डोरी भर्खरै भोटेकोसीमा आएको विनाशकारी बाढीमा उद्धार कार्य गर्दा क्षति भएको जानकारी गराउनुभएको थियो। सोही सहयोगको कदर गर्दै RN16 टोलीका तर्फबाट पनि भक्तपुर विकास सहयोग संघलाई कदर पत्र प्रदान गरिएको थियो।

यो हप्ता भक्तपुरमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष राजु मृगेन्द्र जोशीलगायत पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उपस्थिति रहेको थियो।