भक्तपुरमा ‘ख्वप आदर निकेटन’को भोलि उद्घाटन हुँदै
भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा नवनिर्मित कलात्मक भवनमा ‘ख्वप आदर निकेटन’ सञ्चालनको अन्तिम तयारी पूरा भएको छ। स्थानीय वडाध्यक्ष डा. हरिराम सुवालका अनुसार आइतबार भोलि बिहान ८ बजे एक कार्यक्रमका बिच यसको औपचारिक उद्घाटन हुने भएको हो।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूको निर्वाचन घोषणापत्र अनुसार नगरवासीको जन्मदेखि मृत्युसम्मका कार्यमा साथ दिने उद्देश्यअनुरुप यो आदर निकेटन सञ्चालन गर्न लागिएको वडाध्यक्ष सुवालले बताउनुभयो।


स्थानीय जनप्रतिनिधि रोशनमैया सुवालका अनुसार यस आदर निकेटनमा ३० जना ज्येष्ठ नागरिकहरूका लागि दैनिक भोजन (आजा), खाजा, व्यायाम, प्रतिभा प्रवर्धन, भजन-कीर्तन तथा सामूहिक छलफललगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिकहरूसँग रहेको ज्ञान र सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रूपमा यसलाई अघि बढाउने तयारी गरिएको छ।
भक्तपुर नगरपालिकाले सञ्चालन तथा प्रवर्धन गर्ने गरी तयार पारिएको सो ख्वप आदर निकेटनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंबाट हुने कार्यक्रम रहेको छ।














