पुनर्निर्माण अलपत्र पर्दा ऐतिहासिक जगन्नाथ मन्दिर जीर्ण, संरक्षणका लागि पुजारीको आग्रह
भक्तपुर। भक्तपुरस्थित ऐतिहासिक जगन्नाथ मन्दिरको पुनर्निर्माण कार्य लामो समयदेखि अधुरो रहँदा मन्दिर जीर्ण बन्न थालेको छ। दरबार हेरचाह तथा पुरातत्व विभागद्वारा विगत दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको यो मन्दिर बजेट अभावका कारण हाल बेवारिसे बनेको मन्दिरका पुजारीले जानकारी दिनुभएको छ।
शिखर शैलीको यस मन्दिर परिसरलाई परम्परागत स्वरूपभन्दा ठूलो बनाएर भक्तजनहरूलाई पूजाआजा गर्न सहज बनाइएको भए पनि निर्माण कार्य पूर्ण नहुँदा समस्या पैदा भएको छ। मन्दिरलाई त्रिपालले समेत नछोपिएका कारण वर्षाको पानी चुहिएर बनिसकेका काठ तथा अन्य भागहरू कुहिने र मकिने अवस्थामा पुगेका छन्।


मन्दिरभित्र श्रीकृष्णको प्रतीकका रूपमा जगन्नाथ, बलदेव र सुभद्राको मूर्ति रहेको छ। मन्दिरका बहुमूल्य तथा ऐतिहासिक भागहरू ओसिएर नष्ट हुने जोखिम बढेकाले मन्दिरको तत्काल संरक्षण र पुनर्निर्माण कार्य पूरा गरिदिन पुजारीले सरोकारवाला निकायहरूसँग आग्रह गर्नुभएको छ।
अधुरो निर्माणका बाबजुद पनि मन्दिर सर्वसाधारणका लागि बिहानको समयमा दर्शन गर्न खुला रहने गरेको जनाइएको छ।














