त्रिपुरासुन्दरीमा ‘रक्तदान महादान’ कार्यक्रम सम्पन्न, हाट बजारको पनि सुरुवात

त्रिपुरासुन्दरीमा ‘रक्तदान महादान’ कार्यक्रम सम्पन्न, हाट बजारको पनि सुरुवात
भक्तपुर, असोज ३ गते। “रक्तदान महादान” भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका वडा नं। ५ र त्रिपुरासुन्दरी युवा समूहको संयुक्त आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । त्रिपुरासुन्दरी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा २८ जना रक्तदाताहरूले रक्तदान गरेका छन्।
स्थानीय वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेंको आतिथ्यतामा सम्पन्न सो कार्यक्रम रक्तसञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।
रक्तदान कार्यक्रमकै अवसर पारी सो क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साप्ताहिक हाट बजारको समेत औपचारिक सुरुवात गरिएको छ। नेपाल इट्टा उद्योग व्यवसायी महासंघका अध्यक्ष केपी अवाल र होटल व्यवसायी सत्यराम सुवाल लगायत भक्तपुर नगरपालिका वडा नं। ५ र त्रिपुरासुन्दरी युवा समूहको संयुक्त सक्रियतामा हाट बजार सञ्चालनमा ल्याइएको हो।
सांगीतिक प्रस्तुतिसहित सुरु गरिएको सो हाट बजारबारे जानकारी दिँदै आयोजक समितिका सत्यराम सुवालले स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै २०७२ सालको भूकम्पपछि सुस्ताएको स्थानीय पहिचानयुक्त बजारलाई पुनःस्थापित गर्ने लक्ष्य राखिएको बताउनुभयो।
स्थानिय आयोजक युवा समूहका अनुसार यो हाट बजार हरेक हप्ताको शनिबार र आइतबार सार्वजनिक बिदाका दिन निरन्तर सञ्चालन गरिनेछ।