संविधान दिवसमा काठमाडौँ शिक्षालयको साइकल ¥याली ः बाढीपीडितलाई सहयोग र वातावरण चेतनाको सन्देश

संविधान दिवसमा काठमाडौँ शिक्षालयको साइकल ¥याली ः बाढीपीडितलाई सहयोग र वातावरण चेतनाको सन्देश

ललितपुर, ३ असोज । संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले भव्य साइकल ¥याली आयोजना गरेको छ । “बाढीपीडितका लागि साइकल ¥याली, मानवताका लागि एकता“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी साइकलप्रेमीहरूको सहभागिता रहेको थियो ।

इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको ¥याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार र महालक्ष्मी नगरपालिकालगायत क्षेत्रको परिक्रमा गर्दै पुनः विद्यालय परिसरमै पुगेर समापन भएको थियो । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले समुद्घाटन गर्नुभएको यस ¥यालीमा शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीका साथै स्थानीय जनसमुदायको बाक्लो सहभागिता रहेको थियो । ¥यालीलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाल स्काउट र १५० भन्दा बढी स्वयंसेवकहरू खटिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले प्राकृतिक विपद्का बेला पीडितहरूप्रति ऐक्यबद्धता जनाउन र युवापुस्तालाई सामाजिक उत्तरदायित्व बोध गराउन विद्यालयले प्रशंसनीय कार्य गरेको बताउनुभयो । उहाँले संविधानले देशलाई सही दिशा दिने भएकाले यस्ता रचनात्मक कार्यक्रममार्फत विद्यार्थी र समुदायमा वातावरणीय संवेदनशीलता एवम् सामाजिक दायित्व बढाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइक्लिङलाई केवल खेलकुदमा मात्र सीमित नराखी मानवीय सेवा, व्यावहारिक शिक्षा र वातावरणीय चेतनासँग जोडिएको अभियानका रूपमा अघि बढाइएको जानकारी दिनुभयो । ¥यालीको दर्ता शुल्कबाट सङ्कलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने र विद्यालयले यसअघि नै भोटेकोशी बाढीप्रभावितहरूलाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनका असरबारे विद्यालय तहबाटै चेतना जगाउन अब हरेक वर्ष संविधान दिवसका दिन यो ¥यालीलाई वार्षिक अभियानका रूपमा निरन्तरता दिइने उहाँको भनाइ थियो ।

शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्षहरू छिरिङ लामा र अमृत केसी, नगर शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेलसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ¥यालीका सहभागीहरूलाई विद्यालयका तर्फबाट टी–सर्ट, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।