‘सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न

‘सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर । २०८३ भदौ ७
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चार माध्यममा भक्तपुर नपा र सञ्चार माध्यममा भक्तपुर नपा २ पुस्तकको परिचर्चा तथा लेखक, पत्रकार र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पुस्तकका लेखक, पत्रकार तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापनसहित सम्मानपत्र तथा मायाको चिनो वितरण गर्नुभयो ।


कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले आफ्नो अनुहार हेर्न ऐना आवश्यक भएजस्तै नगरपालिकाले गरेका कामका सकारात्मक पक्ष्ँ र कमी–कमजोरी औंल्याउन सञ्चारकर्मीहरुको भूमिका आवश्यक पर्ने बताउनुभयो ।
उहांले नगरपालिकाका कामका सकारात्मक र नकारात्मक पक्षबारे पनि आलोचक आवश्यक रहेको बताउंदै जनताबाट प्राप्त रचनात्मक सुझावले नगरपालिकालाई थप व्यवस्थित रुपमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउनुभयो ।
उहांले हरेक मुद्दामा अपराधी विजयी हुन नपाउने दिन आउने बताउंदै साना–साना स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्ने सोचले समाज समृद्ध बन्ने बताउनुभयो । भक्तपुरका सम्पदाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा हुने गरेको उहांले सोही क्रममा बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नयां पुस्तालाई विदेशी भाषा सिकाएर विदेशी पर्यटकलाई भक्तपुर घुमाउन सहज वातावरण सिर्जना गरेको बताउंदै उहांले नगरपालिकाले आफ्ना कमी–कमजोरी सुधार्दै अझ राम्रो काम गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफूहरू दोस्रो कार्यकालको अन्तिम वर्षमा रहेको उल्लेख गर्दै कार्यकाल सकिन करिब नौ महिना मात्र बांकी रहेको र कार्यकालको अन्तिम दिनसम्म पनि जनताको सेवा गर्न नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका गतिविधि, अभ्यास र उपलब्धिहरूलाई पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूले विभिन्न सञ्चारमाध्यममार्फत जनताबीच पु¥याउन महत्वपूर्ण योगदान गरेको बताउंदै सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो ।
उहांले भक्तपुरको विकासमा राजनीतिक दलका नेता तथा कार्यकर्ता, पूर्व र वर्तमान जनप्रतिनिधि र निःस्वार्थ भावनाले काम गर्ने स्थानीय जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
प्रमुख प्रजापतिले २०५९ सालदेखि २०७४ सालसम्म जनप्रतिनिधिविहीन हुंदा भक्तपुरको विकास करिब ३०–४० वर्ष पछाडि परेको बताउंदै २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनपछि भक्तपुरको विकासलाई व्यवस्थित र सन्तुलित ढंगले अगाडि बढाउने प्रयास भइरहेको बताउनुभयो ।
उहांले पञ्चायती व्यवस्थाकै समयमा पनि भक्तपुर नगर पञ्चायतले शिक्षा प्रचार, सरसफाइ अभियान सञ्चालन तथा आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै छुट्टै पहिचान कायम गरेको बताउंदै  सय वर्षपछिको भक्तपुर पुस्तकलाई आधार मानी नगरपालिकाले विकासको गतिलाई निरन्तर अगाडि बढाइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सञ्चार माध्यममा भक्तपुर नपा र सञ्चार माध्यममा भक्तपुर नपा २ पुस्तकलाई भक्तपुर नगरपालिकाका लागि ऐनासरह भएको बताउंदै पत्रकार, लेखक र सम्पादकहरूले नगरपालिकाका कामको कसरी मूल्यांकन गरेका छन् भन्ने बुझ्न पुस्तकले सहयोग पुगेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सम्पूर्ण सञ्चारकर्मी तथा लेखकहरूप्रति भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहांले भक्तपुर नगरपालिकाले अवलम्बन गर्दै आएका असल अभ्यासहरू देशभरकै लागि उदाहरणीय बनेको बताउनुभयो ।
भक्तपुरको हरेक गतिविधि र विकास निर्माणमा जनताको निरन्तर साथ र सहयोग रहेकै कारण नगरपालिकालाई काम गर्न सहज भएको उहांले बताउनुभयो ।
सोही क्रममा भक्तपुर मासिकका सम्पादक लक्ष्मणराज जोशीले पुस्तकको समीक्षा गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा, खेलकुद, सहकारी आदि विषयमा थुप्रै पुस्तकहरु प्रकाशन गरिसकेको बताउनुभयो ।
पत्रकारहरूले विभिन्न विषयमा लेखेका सामग्री समेटिएका पुस्तक प्रकाशन हुनु महत्वपूर्ण कार्य भएको बताउंदै विगतमा राष्ट्रिय पत्रिकाहरूमा भक्तपुरका समाचार प्रायः प्रकाशित नहुने र प्रकाशित भए पनि तोडमोड गरेर छापिने गरेको उहांको भनाइ थियो ।
पत्रकार र पत्रकारिता सरकारको सेवक नभई जनताको आवाज भएको बताउंदै उहांले ख्वप विश्वविद्यालय स्थापनाका लागि पत्रकारहरूले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत राममणि भट्टराईले भक्तपुर नगरपालिकाको सबैभन्दा महत्वपूर्ण पक्ष सांस्कृतिक धरोहर नै भएको बताउनुभयो । उहांले भक्तपुरको सांस्कृतिक धरोहरसंगै शिक्षा र स्वास्थ्य क्षेत्र पनि थपिंदै गएको उल्लेख गर्दै आफूले भक्तपुर नगरपालिकामा कार्यरत रहंदा केही सम्झनलायक काम गरेको स्मरण गर्नुभयो । उहांले नगरपालिकाका कामलाई आयमूलक रूपमा पनि अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सोही क्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले सञ्चारकर्मीलाई सम्मान गरेकोमा भक्तपुर नगरपालिकालाई धन्यवाद दिंदै सञ्चार माध्यममा भक्तपुर पुस्तकले सञ्चारकर्मीहरूको कामको मूल्यांकन गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले गरेका कामको प्रचारप्रसारमा पत्रकारहरूले निस्वार्थ रूपमा काम गरेको बताउंदै पत्रकारहरूका लागि यो कार्यक्रम निकै विशेष रहेको बताउनुभयो । आगामी दिनमा भक्तपुर नगरपालिकासंग सहकार्य गरी अगाडि बढ्न पाउने विश्वास व्यक्त गर्दै उहांले भक्तपुरको रानीपोखरी पुनर्निर्माणमा सञ्चारकर्मीहरूको ठूलो भूमिका रहेको बताउनुभयो ।
कवि तथा शिक्षक हरिहर तिमिल्सिनाले भक्तपुर सबै पक्षमा सबल देखिएको बताउंदै भक्तपुर नगरपालिकाले आफैं फोहोरमैला व्यवस्थापन गर्ने काम पनि राम्रो भएको उल्लेख गर्नुभयो । सञ्चारकर्मीहरूको योगदानले भक्तपुरको नाम अझै चम्किने विश्वास उहांले कार्यक्रममा व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पुष्कर बुढाथोकीले पत्रकारिताको सिलसिलामा भक्तपुरसंग जोडिएपछि यहांका समाचार सम्प्रेषण गर्दाका अनुभव सुनाउंदै भक्तपुरका संस्थागत अभ्यासहरू नमुनायोग्य रहेको बताउनुभयो । उहांले सञ्चारमाध्यमबाट आउने रचनात्मक सुझावलाई पनि ग्रहण गर्दै नगरपालिका अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नयां पत्रिका राष्ट्रिय दैनिककी पत्रकार शान्ति तामाङले भक्तपुर नगरपालिकाको कामकारबाहीले आफूलाई भक्तपुरका विषयमा लेख्न प्रेरित गरेको बताउंदै भक्तपुरको मौलिकता अन्य ठाउंमा नपाइने उल्लेख गर्नुभयो । उहांले पुस्तकलाई नगरपालिकाको कामकारबाहीबारे जानकारी दिने अमूल्य दस्ताबेजको रूपमा लिन सकिने बताउंदै घोषणापत्रअनुसार काम भएको छ वा छैन भन्ने बुझ्न पनि पुस्तकले सहज बनाएको बताउनुभयो।
स्वतन्त्र पत्रकार उपेन्द्र लामिछानेले भक्तपुरका हरेक गल्ली, चोक र आँगनले नगरलाई सुन्दर बनाएको बताउनुभयो । भक्तपुरले शिक्षा क्षेत्रमा गरेको काम तथा सम्पदा संरक्षण र संरचना निर्माणको काम उदाहरणीय रहेको बताउंदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको १०० वर्षपछिको भक्तपुर पुस्तक नै भक्तपुरको विकासका लागि मार्गदर्शन बनेको उहांको भनाइ थियो ।
स्वतन्त्र पत्रकार मकर श्रेष्ठले पत्रकारका लेखहरू संग्रह गरी पुस्तक प्रकाशन गर्नु सराहनीय कार्य भएको बताउंदै पत्रकारहरूले लेखेका समाचार र लेखकै आधारमा भक्तपुर नगरपालिकाको कामबाट अन्य स्थानीय तहले पनि सिकेको उल्लेख गर्नुभयो । नेपाल मजदुर किसान पार्टीको पहिचान र नगरको सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणबाट भक्तपुर चिनिने गरेको बताउंदै उहांले पुस्तक प्रकाशन पनि पत्रकारिताको महत्वपूर्ण पाटो भएको धारणा राख्नुभयो । उक्त पुस्तकलाई ऐतिहासिक दस्ताबेजको रूपमा लिन सकिने बताउंदै पुस्तक भक्तपुर नगरपालिका चिनाउने परिचय बनेको बताउनुभयो ।
नागरिक दैनिकका पत्रकार कृष्ण किसीले पुस्तकको समीक्षा गर्दै देशका ७५३ वटा स्थानीय तहमध्ये भक्तपुर नगरपालिका कामका हिसाबले अग्रस्थानमा रहेको उल्लेख गर्दै पुस्तक प्रकाशनको कार्यलाई अझ व्यापक बनाउंदै लैजानुपर्ने धारणा राख्नुभयो ।
पत्रकार रमेश गिरीले पुस्तकका बारेमा बोल्दै विगत २२ वर्षदेखि भक्तपुर नगरपालिका र यहांका विभिन्न गतिविधिसम्बन्धी समाचार लेख्दै आएको स्मरण गर्दै भक्तपुरका गतिविधिसंग सम्बन्धित समाचारका दस्ताबेजहरू खोजी गरी पुस्तक प्रकाशन गर्ने योजना रहेको जानकारी दिनुभयो । भक्तपुरको रानीपोखरी पुनर्निर्माणका क्रममा समाचार लेख्दाको अनुभव सुनाउंदै उहांले भक्तपुर नगरपालिकाले सञ्चारकर्मीलाई धेरै माया र सम्मान दिएको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले भक्तपुर नगरपालिकाले गरेका काम जनतासमक्ष पु¥याउने महत्वपूर्ण भूमिका पत्रकारहरूले निर्वाह गरेको बताउनुभयो ।
  कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।