कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालयको सहकार्यमा आर्थिक बर्ष २०८३।०८४ को बजेट उद्यमी व्यवशायीलाई प्रदान गरेको छुट सेवा तथा अन्य विविध विषयमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन भयो । सो कार्यक्रमा आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत राजेन्द्र कोईरालाले यो पटक आएको छुट सुविधा विविध कारण करको दायरामा नआएका तथा आएर पनि विवरण दाखिला नगरेका वा कर नतिरेका कर दातालाई एउटा बम्पर उपहार जस्तै भएको कारण यो अवसरको सदुपयोग गर्न अनुरोध गर्नुभयो । साथै यस्तो छुट सुविधाहरु सम्भवतः अवको बर्षदेखि नआउन पनि सक्ने भएकोले संघमा आवद्ध उद्यमीहरुलाई पनि यो बिषयमा जानकारी गराई दिन अनुरोध गर्नुभयो ।साथै कर अधिकृत कोईरालाले यो बर्ष सरकारले प्रदान गरेका विभिन्न छुट सुविधा सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुका साथै उद्यमी व्यवशायीले उद्योग व्यवशाय गर्दा पालना गर्नुपर्ने निति नियम र सो पालना नगर्दा हुन सक्ने कानुनी कारवाहीबारे सचेतना गराउनु भयो । त्यसै गरी आन्तरिक राजश्व कार्यालयका नासु तुल्सीकुमार मल्लले आफुसग भएको मोबाईल तथा कम्प्युटरबाटै घरमै बसेर पनि स्थायी लेखा नं लिन र डे १ तथा डे २ कर तिर्ने शिक्षा दिनुभयो ।


कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष एव संघका पुर्व अध्यक्ष विरेन्द्र जतिले कर तिर्नु उद्यमी व्यवशायीहरुको दायित्व भएको कारण संघले समय समयमा यसरी नै कर कार्यालय सँग सहकार्य गरी सचेतना कार्यक्रम गरिरहेको स्मरण गर्दै विगतमा पनि उद्यमी व्यवशायीहरुलाई परेको समस्याहरुबारे छलफल गरी समाधानको लागि संघले पहल गरिदिएको जानकारी गराउनु भयो । त्यसैगरी संघको निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले प्रत्येक बर्ष कर शिक्षा तथा अन्तरक्रिया गर्नुको मुख्य उद्देश्य भनेको सो आर्थिक बर्षमा कर कार्यालयले के कस्ता नयाँ निति तथा सेवा सुविधाहरु लागु गरेको छ के कस्ता सुविधा तथा जरिवानाको व्यवस्था गरेको सो बारे संघमा आवद्ध उद्यमी व्यवशायीहरुलाई जानकारी गराउनुको साथै उद्यमी व्यवशायीहरुलाई परेको समस्या बारे कर कार्यालयलाई जानकारी गराउने रहेको बताउनु भयो । त्यसैगरी संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले करमा आवद्ध भएमा साना उद्यमीहरुले नेपाल सरकारले प्रदान गरिने विभिन्न सेवा सुविधा लिन सकिने भएकोले करलाई अवसरको रुपमा लिनुपर्ने धारणा राख्दै समयमै कर तिर्न उद्यमी व्यवशायीहरुलाई अनुरोध गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा राजकुमार प्रजापति मिना गोमान्जु सोम तामाङ्ग राजेन्द्र नापित लक्ष्मी प्रसाद बाटी हिराकाजी मानान्धर तारदेवी धन्छा सत्यनारायण माननधर लगायतले कर सम्बन्धि विभिन्न विषयमा राखेको जिज्ञासालाई कर अधिकृत राजेन्द्र कोईराला तथा नासु तुल्सीप्रासद मल्लले जवाफ दिनु भएको थियो ।कार्यक्रममा संघका सचिव श्रीजना कक्षपतिले भक्तपुर घरेलु तथा साना उद्योग संघले राजश्व संकलनमा संघले पुर्याउँदै आएको योगदानको बारे चर्चा गर्नुभएको थियो ।












