स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
चापाकोट (पोखरा) ः स्वतन्त्र पत्रकार संघले सदस्यता खुलाएको छ । पर्यटकीय राजधानी पोखराको चापाकोटमा आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले आर्थिक वर्ष २०८३÷८४ का लागि सदस्यता नवीकरण तथा नयाँ सदस्यता खुला गर्ने निर्णय गरेको हो । सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्तिका लागि असोज मसान्तसम्म आवेदन दिन सकिने निर्णय भएको महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला समितिको सिफारिसमा केन्द्रीय समितिले आगामी बैठकमा सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने महासचिव श्रेष्ठको भनाइ छ ।
गत चैतमा सम्पन्न अधिवेशनबाट कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा निर्वाचित समितिको आइतबार बसेको बैठकले वार्षिक कार्ययोजना बनाउने निर्णय गरेको छ । बैठकले वार्षिक कार्ययोजना बनाउन महासचिव सुरेश श्रेष्ठलाई जिम्मेवारी दिएको छ । महासचिव श्रेष्ठले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यसँगै जिल्ला अध्यक्षहरुसँग परामर्श गरी कार्ययोजना तयार पारिने जानकारी दिनुभयो । बैठकले जिल्ला अध्यक्षहरुको भेला आगामी केन्द्रीय समितिको बैठकसँगै आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले पोखराका अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा स्वतन्त्र पत्रकार संघका निवर्तमान अध्यक्ष केबी मसाल, पोखराकै अग्रज पत्रकार शान्ति राणा, भक्तपुरका कृष्ण किसी र रुपन्देहीका राजेन्द्र रायमाझीलाई सल्लाहकार समितिको सदस्य चयन गरेको छ । स्वतन्त्र पत्रकार संघले वार्षिकरुपमा प्रकाशन गर्दै आएको स्वतन्त्र सन्देशलाई त्रैमासिक पत्रिकाको रुपमा प्रकाशन गर्ने निर्णय गरेको छ । आगामी अंकका लागि नमस्कार शाहलाई पत्रिका प्रकाशनका लागि संयोजन गर्ने जिम्मेवारी दिएको छ ।
स्वतन्त्र पत्रकारको संगठन विस्तारका लागि पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिएको छ । हालसम्म २९ जिल्लामा शाखा विस्तार भए पनि केही जिल्ला निष्क्रिय रहेको उल्लेख गर्नुहुँदै महासचिव श्रेष्ठले भन्नुभयो, ‘निष्क्रिय भएका जिल्लालाई सक्रिय बनाउने र जिल्ला शाखाहरु विस्तार गर्दै लगिने निर्णय भएको छ ।’ आइतबारको बैठकले तीन वटा उपसमिति पनि बनाएको छ । महासचिव श्रेष्ठको संयोजकत्वमा संगठन उपसमिति बनाएको छ । जसको सदस्यमा केन्द्रीय समिति सदस्य कृष्णबहादुर रानाभाट र केन्द्रीय समिति सदस्य सुरेश प्रसाद सैंजु हुनुहुन्छ । सचिव कल्याण पन्तको संयोजकत्वमा अनुशासन उपसमिति गठन गरिएको छ । अनुशासन उपसमितिको सदस्यमा तिर्सना लक्ष्मी गुरुङ र प्रेमध्वज लामा रहनुभएको छ । कोषाध्यक्ष नमस्कार शाहको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । आर्थिक उपसमितिको सदस्यमा सागर कार्की र युक्तप्रसाद सुवेदी रहनुभएको छ ।
बैठकले स्वतन्त्र पत्रकार संघको नियमित बैठक भौतिक उपस्थितिमा त्रैमासिकरुपमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले स्वतन्त्र पत्रकार संघको विधान संशोधन गर्न महासचिव श्रेष्ठको संयोजकत्वमा उपाध्यक्ष तिर्सना लक्ष्मी गुरुङ र कोषाध्यक्ष नमस्कार शाह सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ । यस्तै संघले प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानलाई नियमितता दिन आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्न कोषाध्यक्ष नमस्कार शाहलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकपछि स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जिम्मेवार, स्वतन्त्र र जवाफदेही पत्रकारिता प्रवद्र्धनमा स्वतन्त्र पत्रकार संघले सञ्चारकर्मीको क्षमता विकाससँगै सञ्चार माध्यमको सवलीकरणमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सञ्चार माध्यम रहँदा मात्रै सञ्चारकर्मीको कर्म गर्ने अवसर रहने भएकाले सञ्चारकर्मीको हितसँगै सञ्चार माध्यमको जिवन्तताका लागि पनि स्वतन्त्र पत्रकार संघले आवश्यक पैरवी र कार्यक्रम गर्नुपर्छ भन्ने मान्यता राख्नुपर्ने उहाँको भनाइ थियो ।












