जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ‘एकद्वार प्रणाली’ लागू, १ घण्टाभित्रै नागरिकता र राहधानी पाइने

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ‘एकद्वार प्रणाली’ लागू, १ घण्टाभित्रै नागरिकता र राहधानी पाइने

भक्तपुर, भाद्र ३० गते

जिल्ला प्रशासन कार्यालय भक्तपुरले नागरिकलाई दिइने सेवा चुस्त र सहज बनाउन कार्यालय व्यवस्थापनमा व्यापक सुधार गर्दै ‘एकद्वार प्रणाली’ लागू गरेको छ।

खासगरी नागरिकता र राहधानी (पासपोर्ट) लिन आउने सेवाग्राहीहरूलाई झन्झटमुक्त वातावरणमा छिटो-छरितो सेवा प्रदान गर्न कार्यालयको प्रवेशद्वारमै सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ। नयाँ व्यवस्था अनुसार कागजात मिलाउने, फाराम बुझाउने, नागरिकता वा राहधानी बनाउने तथा प्रतिलिपि लिने जस्ता सम्पूर्ण प्रक्रियाहरू प्रवेशद्वारबाटै व्यवस्थित गरिएको छ।

नयाँ प्रशासनिक व्यवस्थापनबारे जानकारी दिँदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोदकुमार खड्काले अब सेवाग्राहीले प्रक्रिया पूरा भएको १ घण्टाभित्रै नागरिकता तथा राहधानी पाउन सक्ने स्थिति मिलाइएको बताउनुभयो। स्थान अभावका कारण हाल राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवालाई भने एकद्वार प्रणालीमा जोड्न नसकिएको प्रजिअ खड्काले स्पष्ट पार्नुभयो।

सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै घामपानीबाट बच्ने विश्रामस्थल, सफा खानेपानी र शौचालयको समेत व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको यो प्रयास सफल भएसँगै भक्तपुर जिल्लाका अन्य सरकारी कार्यालयहरूमा पनि सहायता कक्ष स्थापना गरी एकद्वार प्रणालीमार्फत सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउने तयारी भइरहेको प्रजिअ खड्काले जानकारी दिनुभयो।