भोटेकोशी बाढी पीडितका लागि जेन्यून सेकेण्डरी स्कुलद्वारा १० लाख ५ हजारभन्दा बढी राहत सहयोग
भक्तपुर
भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि भक्तपुरस्थित जेन्यून सेकेण्डरी स्कुलले प्रधानमन्त्री राहत कोषमा रु. १० लाखभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ।
विद्यालयका तर्फबाट सङ्कलन गरिएको कुल रु. १० लाख ५ सय ५५ (१०,००,५५५/-) रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरी सोको बैंक भौचर आज जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का समक्ष हस्तान्तरण गरिएको हो।
उक्त रकम सङ्कलनमा विद्यालय व्यवस्थापन, शिक्षक, कर्मचारीका साथै विद्यार्थीहरूको समेत प्रत्यक्ष सहभागिता र योगदान रहेको थियो। राहत रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रतिनिधि, शिक्षक, कर्मचारी र सहयोगी विद्यार्थीहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो।


भौचर हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्रतिनिधिहरूले प्राकृतिक विपद्को यस घडीमा प्रभावित समुदायलाई सहयोग गर्नु नागरिक तथा सामाजिक दायित्व भएको बताए। यस्तै, सङ्कटको समयमा ऐक्यबद्धता जनाउँदै ठूलो धनराशि सहयोग गरेकोमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले विद्यालय परिवार, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।
सोही अवसरमा विद्यालयका तर्फबाट आफ्ना विभिन्न शैक्षिक तथा संस्थागत प्रकाशनहरू पनि प्रमुख जिल्ला अधिकारी खड्कालाई हस्तान्तरण गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा भक्तपुरका सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।














