भोटेकोशी बाढी प्रभावितको उपचारका लागि भक्तपुर युवा टिमद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
भक्तपुर
‘विपदपछिको सहयोग, रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ भक्तपुर युवा टिमको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हालै भोटेकोशीमा आएको बाढीबाट प्रभावित भई उपचाररत बिरामीहरूका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
भक्तपुर रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा कुल ५१ जना युवा तथा स्थानीयवासीहरूले रक्तदान गरेका छन्। आयोजक टिमले १०० जना रक्तदाता सहभागी गराउने लक्ष्य राखेकोमा ५१ पिन्ट रगत सङ्कलन भएको भक्तपुर युवा टिमका कार्यवाहक अध्यक्ष केदार तुईतुईले जानकारी दिनुभयो।


कार्यवाहक अध्यक्ष तुईतुईले भन्नुभयो, “हाम्रो टिमका केही युवाहरू राहत सामाग्री लिएर प्रत्यक्ष रूपमै भोटेकोशी पुगेका छन्। विपद्को यो कठिन घडीमा सक्नेले आ-आफ्नो ठाउँबाट सहयोग गर्ने हो, त्यसैले यहाँ हामीले बिरामीको उपचारलाई सहज बनाउन रक्तदान कार्यक्रम आयोजना गरेका हौं।”
वि.सं. २०५० मा ‘मित्रता, अनुशासन र स्वास्थ्यका लागि खेलकुद’ भन्ने आदर्श वाक्यका साथ स्थापित भक्तपुर युवा टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रभावितहरूको उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनामा सरकारको ध्यानाकर्षण गराउनुभयो।
सामाजिक उत्तरदायित्वबारे बोल्दै संस्थापक अध्यक्ष कवांले सरकारले सुरक्षित क्षेत्र पहिचान गरी पुनःनिर्माणको जिम्मेवारी दिएमा गोर्खा इक्व प्यानलमार्फत सर्वसुलभ र द्रुत गतिमा घर निर्माण गर्न सकिने बताउनुभयो। “यदि सरकारले जिम्मेवारी दिन्छ भने हामी सयौं-हजारौं दक्ष जनशक्ति तयार गरी अरूको तुलनामा १५ देखि २० प्रतिशत छुटमा गोर्खा इक्व प्यानलमार्फत महिनामा एउटा घर निर्माण गरेर प्रभावित समुदायलाई छिट्टै पुनर्स्थापित गर्न सक्छौं। ७० वर्षको ग्यारेन्टी रहने यो प्रविधिबाट केही महिनाभित्रै पीडितहरूलाई सुरक्षित आवास दिलाउन सकिन्छ,” उहाँले जोड दिनुभयो।
सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा भक्तपुरका विभिन्न क्षेत्रका युवाहरूको उत्साहमय सहभागिता रहेको थियो।













