भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
भक्तपुर, १ असोज। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरको फैसला पछि सजाय भुक्तान नगरी फरार रहँदै आएका तीन जना अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, प्रहरी वृत्त जगाती तथा मातहतका कार्यालयहरूबाट खटिएको विशेष प्रहरी टोलीले असोज १ गते उनीहरूलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक दिपककुमार कार्कीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा चेक अनादर (चेक बाउन्स) मुद्दाका २ जना र सवारी ज्यान मुद्दाका १ जना रहेका छन्। अदालतको फैसला अनुसार चेक अनादर मुद्दाका अभियुक्तहरूबाट कुल रु। ३,००० जरिवाना असुल गर्न बाँकी थियो भने सवारी ज्यान मुद्दाका अभियुक्तलाई १० महिना ३ दिन कैद सजाय तोकिएको थियो।
पक्राउ परेका तीनै जनालाई कैद सजाय भुक्तानी तथा जरिवाना असुलीको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीले जानकारी दिनुभयो।
प्रहरीले पछिल्लो समय अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउने अभियानलाई तीव्रता दिँदै आएको सूचना अधिकारी कार्कीले जनाएको छ ।













