ऐतिहासिक विस्का जात्रा सुरु, यसपालि सुनको लिंगो उठाउने

भक्तपुर, चैत्र २७ गते
भक्तपुरको ऐतिहासिक विस्का जात्रा आज बाट सुरु भएको छ । ८ दिन ९ रातसम्म मनाईने विस्केट जात्रा कोरना भाइरस संक्रमणको जोखिमका कारण पूजापाठमा मात्रै सिमित गरीए पनि सुनको लिंगो समेत उठाउने भएको छ । हुलमुल हुने गरी विस्का जात्रा नमनाउने सरोकारवाला निकाय बीच हिजो अन्तिम निर्णय गरेपश्चात आज औपचारिकता पूरा हुने गरी विस्का जात्रा सुरु गरेको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्मचार्यले बताएका छन् । चैत्र १० गतेसम्म विधिवत रुपले जात्राको तयारी भइरेहेको भए पनि चैत्र ११ गते देखि सरकारले लक डाउन सुरु गरेपछि जात्राको तयारी पनि स्थगित गरेको भन्दै उहाँले चैत्र मसान्तमा नयाँ वर्षको स्वागत स्वरुप हुने लिगो उठाउने जात्राको महत्व झल्काउदै सुनको लिंगो उठाएर पूजापाठ गरेर जात्राको परम्परागत मान्यता पूरा गर्ने बताउनु भयो । भैरवनाथ र अजिमाको रथ तान्न र जुडाउने जात्रा स्थगित गरिए पनि सिमित सरोकारवाला निकायहरु सहभागि भई ऐतिहासिक विस्का जात्रा मनाउने भएको हो ।
भक्तपुर नगरपालिकामा नगर प्रमुख सुनिल प्रजापति, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी उपरिक्षक सविन प्रधान, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य र विस्का जात्रा गुठीका विभिन्न सरोकारवाला गुठीयारहरु बीच बुधबार सामुहिक छलफल गर्दै यसपालिको विस्का जात्रालाई औपचारिकतामा सिमित गर्ने निर्णय भए अनुसार आज औपचारिता पूरा गरी विस्का जात्रा सुरु गरेको स्थानीय वडाध्यक्ष कुमार चवालले पनि जानकारी दिएका छन् । भक्तपुर नगरको टौमढी टोलस्थित भैरवनाथको मन्दिरको दलिनमा राखेको बेताल र भैरवनाथलाई अलि तल्ल विराजमान गराई यसपालिको विस्का जात्रा सुरु गरेको हो ।
भैरवनाथलाई रथमा राखेर विस्का जात्राको पहिलो दिन नगरको तल्ल लग्न तलेजुबाट खड्ग ल्याउनुपर्ने परम्परा रहे पनि रथ नै नताने भएपछि तलेजुबाट खड्ग भने आज नल्याइएको तलेजुका मुख्य पुजारी नरेन्द्र जोशीले बताए ।
भक्तपुर नगरको टौमढी टोलबाट पश्चिम मार्गलाई तल र पूर्वी मार्गलाई माथिल्लो भेग भनि विस्का जात्राले जात्राको परम्परागत मार्ग छुटाएको छ ।
भैरवनाथलाई मन्दिरबाट बाहिर नल्याई मन्दिर भित्रै राखेर विधि पुर्याएर विस्का जात्रा साँकेतिकरुपमा मनाउन सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख कर्मचार्यको भनाई हो । कोरना भाइरसको जोखिम व्यवस्थापनका लागि हुलमुल नहुने गरी गुठीका नाइके र सरोकारवाला निकायहरु बीच मात्रै ८ दिन ९ रात अर्थात चैत्र २७ गते देखि बैशाख ५ गतेसम्मको विस्का जात्रा मनाउने भएको हो । विस्का जात्रासँग स्थानीय समुदायको विशेष पर्व र आस्था पनि गासिएको, पशुपन्छि समेत बलि दिने परम्परा रहेकाले तथा नगरभरी अष्ट मात्रिकाका विभिन्न स्थानीय पीठहरुको जात्राहरु समेत भई टोल टोलमा पूजा आजा गर्ने परम्परा रहेकाले भैरवनाथलाई बाहिर नल्याई मन्दिर भित्रै राखेर सर्वसाधारणको भेला समेत नहुने गरी विस्का जात्रार्का हुलमुलमा हुने सम्पूण जात्रा पर्व स्थागित गरिएको स्थानीय आयोजक न्हुछेराम भेलेले जनसञ्चार खवरलाई बताउनु भएको छ ।
कोरना भाइरसको जोखिम ब्यवस्थापनका लागि लाखौ जनसमुदायको आस्थाको प्रतिक विस्का जात्रा जनसहभागिता विना सरोकारवाला निकायहरु बीच सुनको लिंगो उठाए मनाउने गरी यसपालिको विस्का जात्रा आजबाट सुरु भएको हो । सुनको लिगो विशेष अवस्थामा मात्र उठाउने मान्यता रहेको छ । यसपालिका भैरव र अजिमाको रथ तान्ने जुडाउने तथा पचपन्न हाते लिगों समेत कोरना भाइरसको जोखिमका कारण नउठाउने भएपछिको यो विशेष अवस्थामा सुनको लिंगो उठाउने भएको हो ।