भक्तपुर, पुस १५ गते ।
सन्ध्याकालिन सम्पदा पद यात्रा सुरु गर्दै भक्तपुर नगरमा मंगलबार नेपाल भ्रमण वर्षको स्वागत गरेको छ । भक्तपुर नगरको दरवार क्षेत्रमा रहेको ठूलो घण्टा र ३२९ वर्ष पूरानो नगरा बजाउँदै नेपाल पर्यटन वर्ष २०२०को स्वागत स्वरुप भक्तपुर नगरपालिकाले सन्ध्याकालिन सम्पदा पद यात्रा गरेका हुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले पानसमा दिप प्रज्वलन गर्दै सम्पदा पद् यात्राको शुभराम्भ गरेका थिए । दिप प्रज्वलन सहित भएको सम्पदा पद यात्रामा सांसद सुवालले भ्रमण वर्षको अवसरमा नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्ने सरकारले राजधानी केन्द्रीत विकास मात्र नहेरी देशको समग्र विकासलाई ध्यान दिनुपर्नेमा जोड दिनु भयो । काठमाण्डौ उपत्यकामा चारवटा ठूला शहरहरु विकास गर्ने भन्दै काठमाण्डौलाई अव्यवस्थित, अपराधिक र अभाबै अभाबको शहर बनाउन लागेकोमा आपति जनाउनु भयो । जनताको आवाज बुलन्ध गर्ने संदन पनि सभामुख लगायत विभिन्न कारणले पुस १६ गतेको लागि आह्वान गरेको पुस २६ गतेसम्मको लागि सारेको भन्दै अंग्रेजी सम्वतको नयाँ वर्ष र नेपाल भ्रमण वर्षलाई साँस्कृतिक उत्सवको रुपमा भव्य स्वागत गर्नुपर्नेमा जोड दिनु भयो । भक्तपुर महोत्सव सडक महोत्सव सहित तेस्रौं पटक आयोजना हुन लागेको भन्दै साँसद सुवाल साँस्कृतिक महत्वहरु बर्ष भरी नै आयोजना गर्नुपर्नेमा जोड दिनु भयो |

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सभाको सभापतित्व ग्रहण गर्दै नेपाल भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप भक्तपुर नगरपालिकाले पनि नगरमा पर्यटकलाई स्वागत गर्न भ्रमण वर्ष मनाउने भव्य तयारी गरेको जानकारी दिनु भयो । पर्यटकलाई भक्तपुरमा देखाउन धेरै कला संस्कृति र नाँचगानहरु रहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले जनु सुकै देशबाट आएको पर्यटक भए पनि भक्तपुरमा लामो समयसम्म रहने गरी रातिकालिन पर्यटन प्रवर्धनमा पनि जोड दिइरहेको बताउनु भयो । उहाँले भूकम्पपछिको सम्पदा पुनर्निर्माणलाई जोड दिन्दै भक्तपुर नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पर्यटक मैत्री शौचालय निर्माण थालेको बताउनु भयो । नाँचगानको शहर भक्तपुरलाई पर्यटकीय गणतव्यस्थलको रुपमा विकास गर्न विभिन्न भाषाहरुको प्रशिक्षण, पठपदर्शकहरुलाई तालिम दिइ आएको बताउनु भयो । भ्रमण वर्षले भक्तपुर नगरको जीवन्त संस्कृतिको उठान गर्न आर्थिकरुपले पनि सवल हुने विश्वास व्यक्त गर्नु भयो ।
प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सो अवसरमा पर्यटन वर्षले अन्तरदेशीय सम्वन्ध बढाउन, साँस्कृतिक स्तर उकास्न तथा आदानप्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो भने अर्का प्रदेश साँसद सृजना सैंजूले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको सय वर्षपछिको भक्तपुरको परिकल्पना अनुसार भक्तपुरलाई पर्यटकीय गणतव्यस्थलको रुपमा विकास भई रहेको बताउँदै भूकम्पपछिको जिर्ण भक्तपुरका सम्पदाहरु विस्तारै उठाउन थालेकोमा भक्तपुर नगरपालिकाको प्रसंशा गर्नु भयो ।

जिल्ला प्रसाशन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधान सहित सुरक्षा निकायका पदाधिकारीहरु, भक्तपुर नगरपालिकाका जनप्रतिनिधी तथा कला संस्कृतिप्रमीहरुको उल्लेख्य सहभागितामा सन्ध्याकालिन सम्पदा पद यात्रा भएको हो । पद् यात्रामा माक प्याखं, लाखे प्याखं सहित सांस्कृतिक झाकि सहिता दरवार क्षेत्रबाट तौमढी, स्कूल ढोका, दत्तात्रय हुँदै वाकुपति नारायण स्थानसम्मको यात्रा तय गरेको छ । वाकुपति चाँगुनारायणका स्थानीय समुदायले सम्पदा पद यात्रामा आएका अतिथिहरुलाई योमारी खुवाउने कार्यक्रम समेत तय गरेको वाकुपति मन्दिर तामाको छाना निर्माण उपभोक्ता समिति भक्तपुरका सचिव रविन्द्र कुसीले बताएका छन् । यसक्रममा भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक देवी प्याख, माक प्याखं लगायत दाफा भजन र नाचगानहरु पनि प्रस्तुत गरेका छन् भने इस्वि सम्वतको पहिलो दिन विहान भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकको टोलीलाई भक्तपुर नगरपालिका नगर प्रमुख सुनिल प्रजापतिले स्वागत र उपहार दिने कार्यक्रम तय गरेको छ ।
नेपाल भ्रमण वर्षको अवसरमा सिद्ध पोखरी र नःपुखुमा नौका बिहारको उद्घाटन कार्यक्रम पनि राखिएको छ । नयाँ वर्षको पहिलो दिन विहान ७ बजे दत्तात्रय मन्दिर परिसरबाट साँस्कृति झांकि सहित प्रभात फेरी गर्ने छन् ।















