भक्तपुरमा पनि आयुर्वेद अस्पतालको माग
भक्तपुर, असार २४ गते
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले जिल्लामा आयुर्वेद अस्पताल आवश्यक भएको जनाएको छ । आज भक्तपुरमा आयोजित पत्रकार अन्तरक्रियामा कार्यालय प्रमुख नरेन्द्र गिरीले कम्तिमा १०। १५ शैय्याको अस्पताल भई दिएको भए प्र्यालासिस भएका अशक्तहरुलाई आयुर्वेद उपचार पद्धतिबाट उपचार गर्न सहज हुने भन्दै उहाँले भक्तपुरमै आयुर्वेद अस्पताल निर्माणका लागि २१ रोपनी जग्गा चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित बागीश्वरी क्षेत्रमा उपलब्ध हुने भई सक्दा पनि अस्पताल निर्माणका योजना बन्न नसकेको जनाए । बागमती प्रदेश सरकारले आयुर्वेद उपचार पद्धतिको विकासकालागि प्राथमिकता दिएर नुवाकोटमा अस्पताल निर्माण गरी सकेकोे उल्लेख गर्दै भक्तपुरमा पनि छिट्टै अस्पताल निर्माणका लागि वातावरण बनाउन सरोकारावाला निकायको ध्यानाकर्षण गराउँदै आएको उँहाले बताए ।


भक्तपुरका चारवटै नगरपालिकामा आफ्नो शाखा बिस्तार गरि सकेको जिल्ला आयुर्वेद केन्द्रले भनपा ६ चोछेंं, चनपा ७ बागेश्वरी र सूनपा १० चित्तपोलमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गर्दै आएको छ भने चानपा ५ खरिपाटीमा खरिपाटी आयुर्वेद औषधालय र मध्यपुर थिमी १ लोकन्थलीमा मध्यपुर आयुर्वेद औषधालय सञ्चालन गरी आफ्नो सेवा विस्तार गरिसकेको छ । टोल टोलसम्म आयुर्वेद उपचार सेवा विस्तार गर्ने योजनाका साथ सो केन्द्रले निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिविर, स्वास्थ्य जीवन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम लगायत एक दर्जन भन्दा बढी तालिम परामर्श तथा क्षमतावृद्धिका अभियानहरु सञ्चालन गर्दै आएको उहाँले बताए । केन्द्रमार्फत मात्रै दैनिक ९० जना विरामीले निःशुल्क रुपमा स्वास्थ्य उपचारका साथै विभिन्न २६ प्रकारका औषधी वितरण भइरहेको जानकारी दिदै उहाँले गत वर्ष भन्दा बढी विरामीहरु उपचारकालागि केन्द्रमा आउन थालेको जनाए । गत वर्ष बहिरंग सेवामा १४ हजार मात्र विरामी उपचारकालागि आएकोमा यस वर्ष १९ हजार ८८० पुगेको उल्लेख गर्दै स्तनपायी आमाहरुको संख्यामा भने कमि रहेको जनाए । उहाँले भने जन्मेको ६ महिनासम्म बालिबालिकाको स्वास्थ्यकालागि नियमित स्तनपान गराउनुपर्ने हुन्छ तर सबै आमाहरुले त्यासो पनि गराएको पाइएन, दुध नपुग्ने भएकाले नियमित दुध नखुवाएको भन्दै उहाँले त्यस्ता आमाहरुकालागि आयुर्वेद औषधी सेवनबाट दुध बढाउन सकिने धारणा राख्नु भयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका अध्यक्ष राजुप्रसाद अघिकारीको सभापतित्वमा भएको अन्तरक्रियामा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, राससका पत्रकार रमेश गिरीले आयुर्वेद उपचार पद्धति बारे पहिले देखि पत्रकारहरुको नजर परेको भए पनि चासोको विषय नबनेको तर अहिले केन्द्रबाट दिइरहेको निःशुल्क उपचारात्मक सेवा, लक्षित वर्गलाई विशेष सेवा, जनचेतनामूलक कार्यक्रमहरुले पत्रकारहरुको पनि ध्यानाकर्षण भएको चर्चा गर्दै केन्द्रले पत्रकारहरुसँग यसबारेमा छलफल गर्न थालेदेखि प्राथमिकतामा पर्न थालेको बताए ।
सो केन्द्रले निःशुल्क रुपमा उपचारात्मक सेवाको रुपमा बहिरंग सेवा, प्याथोलोजी ल्याब, पूर्वकर्म, पञ्चकर्म सेवा, फिजियोथेरापी सेवा, अकुपंचर सेवा, निःशुल्क औषधि बितरण, सशुल्क फामेसी सेवा, साथै लक्षित बर्गलाई बिशेष सेवाको रुपमा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, स्तनपायी आमा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ट्राफिकका लागि नश्य कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरुको रुपमा राष्ट्रिय, अन्तराष्ट्रिय योग दिवश, स्वास्थ्य जीवन कार्यक्रम, स्वास्थ्य जीवन प्रवर्धन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम र प्रचारप्रसारमुलक कार्यक्रमका रुपमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिर, सुचना सम्प्रेषण तथा प्रचारप्रसार कार्यक्रम भइरहेको कार्यालय प्रमुख गिरीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरेको छ ।













