छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने

छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने

काठमाडौँ, २२ पुस (रासस) ः यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन । अहिले दैनिक तीन ‘सिफ्ट’ मा छाप्न थालिएको विभाग प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । अबको छ महिनामा अनुमतिपत्र छापिसकेर सम्बन्धित कार्यालयमा पठाइसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसअनुसार नै काम भइरहेको छ ।” अहिले दैनिक १० हजारका दरले अनुमतिपत्र छापिरहेको उहाँले जानकारी दिनुभयो । ‘मास प्रिन्टर’ को क्षमताअनुसार नै छापिरहेको छ । विभागमा हाल सञ्चालनमा रहेको ‘प्रिन्टर’ ले १० मिनेटमा चार अनुमतिपत्र छाप्नसक्छ । अहिले विभागमा एउटा मात्रै ‘प्रिन्टर’ रहेको र त्यसमा समस्या आउदा काम रोकिनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रिन्टरमा समस्या नआउँदा हामीले लक्ष्य लिइएको समयसम्म छापिइसक्न समस्या हुँदैन ।” विभागले पहिलो चरणमा काठमाडौँ उपत्यकामा रहेका कार्यालयका अनुमतिपत्र छाप्न थालेको छ । उपत्यकाभित्र एकान्तकुनासँगै चावहिल, ठूलो भ¥याङ र भक्तपुरको जगाती कार्यालयका अनुमतिपत्र अहिले छापिरहेको छ । ती कार्यालयमध्ये पनि पहिलो चरणमा एकान्तकुना कार्यालयको छापिरहेको उहाँले बताउनुभयो । उपत्यकामा कार्यालयको छापिइसकेर मात्रै उपत्यका बाहिर रहेका २१ कार्यालयको छापिनेछ । उहाँले भन्नुभयो, “पहिले बढी चाप भएका कार्यालयको छापेर विस्तारै कम चाप भएका कार्यालयको छापिनेछ ।” गत महिनामा मात्रै नयाँ कार्ड आएपछि छपाइलाई तीव्रता दिइएको हो । नयाँँ आएको कार्ड विभागकै प्रयोगशालामा परीक्षण गर्दा समस्या नआएको प्रवक्ता डा भुषालले जानकारीदिनुभयो । विभागले १४ लाख कार्ड खरिद गरेकामा चालू आवमा र आगामी आवको केही महिनासम्म समस्या नआउने देखिएको छ । छाप्न बाँकी सात लाख र विभागले लिएको अनलाइन फारमका आधारमा अझै झण्डै चार लाख परीक्षामा सहभागी हुनबाँकी छ ।