भक्तपुरमा पहिलो पटक ‘फिस टनेल एक्स्पो’
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको सांसद दुर्लभ थापाले उद्घाटन गर्नुभएको छ । सांसद दुर्लभ थापाले यसप्रकारको एक्स्पो यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने बताउँदै यसले आन्तरिक पर्यटनको प्रवद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने पनि बताउनुभयो । उहाँले स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन एक्स्पो सफल हुने पनि विश्वास व्यक्त गर्नुभयो । २०८२ असार ६ गते देखि साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै दोश्रो पटक र भक्तपुरमै पहिलो पटक समुद्रमुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो अनुभव हुने गरी फिस टनेल र सुनामी राइड सञ्चालनमा ल्याएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । उहाँले एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुक चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रङ्गीचङ्गी समुद्री माछा नजिकबाट हेर्न सक्ने र टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिनुसाथै यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेका लागि उचित गन्तव्यसमेत रहको बताउनुभयो । यहाँ दुर्लभ तथा रङ्गीन समुद्रमा पाइने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको छ । एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीका लागि ज्ञानवद्र्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले जानकारी दिनुभयो । यस फिसटनेल एक्स्पोमा समुद्री लहरजस्तै हल्लिएको अनुभूति हुने ‘सुनामी राइड’ एक्स्पोको अर्को आकर्षणको रूपमा रहेको छ । सुनामी राइडमा आगन्तुकले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन् । एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङ रोटे पिङ, कोलम्बस, ड्रागन राइड, जम्पिङ्गलगायतका विभिन्न खेलसमेत रहेको छ । साथै नेवारी खाजा, सम्बेबजीलगायत विभिन्न खानाको परिकार, गेम जोन र फोटो स्पटसमेतको एक्स्पोमा व्यवस्था गरिएको छ । एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जानकारी दिएको छ ।













