भक्तपुरमा फैसला कार्यान्वयनतर्फका १० जना फरार प्रतिवादी पक्राउ

भक्तपुरमा फैसला कार्यान्वयनतर्फका १० जना फरार प्रतिवादी पक्राउ

भक्तपुर, २३ असोज ।

विभिन्न मुद्दामा सम्मानित अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका १० जना प्रतिवादीहरूलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले मिति २०८३/०६/२३ गते उनीहरूलाई नियन्त्रणमा लिई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाएको हो।

पक्राउ परेका प्रतिवादीहरूबाट कुल २ महिना १८ दिन कैद र रु. ३,८७,७३०/- (तीन लाख सत्तासी हजार सात सय तीस रुपैयाँ) जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

कारवाही विवरण यस प्रकार छ:

  • बैंकिङ कसुर: २ जना (जरिवाना रु. ३,५५,२००/-)
  • कुटपिट तथा अंगभंग: १ जना (जरिवाना रु. २०००/-)
  • गम्भीर उत्तेजना वा रीसको आवेगमा आई कुटपिट: २ जना (जरिवाना रु. ४००/-)
  • अभद्र व्यवहार: २ जना (कैद: १ महिना ११ दिन)
  • चोरी: २ जना (कैद: १५ दिन, जरिवाना रु. ८,१३०/-)
  • लागू औषध: १ जना (कैद: २२ दिन, जरिवाना रु. २२,०००/-)

फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ।