चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
भक्तपुर, असोज ६ गते
चाँगुनारायण नगरपालिका वडा नं. ९ स्थित हलालगाउँ, ताथलीको हर्षपुरस्थित हलाल गाउँको ऐतिहासिक चट्टान अभिलेखको संरक्षण तथा प्रचार प्रसारकालागि जनसञ्चार टेलिभिजनले ‘वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ आयोजना गरेको छ ।
जनसञ्चार टेलिभिजनका स्टेशन म्यानेजर सुरेशप्रसाद सैंजूको सभापतित्वमा सञ्चालित सो कार्यक्रमका प्रमुख अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले वृक्षारोपणको सुरुवात गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भयो। कार्यक्रमको सुरुमा हालै भोटेकोशी बाढीमा परी ज्यान गुमाएका दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
कार्यक्रमका संयोजक प्रेम ध्वज लामाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र प्राचिन चट्टान अभिलेखहरुको संरक्षणसँगै वृक्षा रोपन गरेर विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गर्ने कार्यक्रम राख्नुको महत्व बारे जानकारी दिनु भयो ।
उक्त समारोहमा बाल प्राचिन मुद्रा संकलक तथा संरक्षककर्ता लक्ष्यजित मल्ल, समृद्धि मल्ल देखि इतिहास शिक्षक विश्वमोहन जोशी, प्राडा सर्वज्ञ राज मल्लसहित ३ दर्जन सामाजिक अभियान्ताहरुलाई सम्मानित गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले भक्तपुरको अमूल्य ऐतिहासिक सम्पदा र प्राचीन चट्टान अभिलेखको संरक्षण तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्न सरकारी तवरबाट आवश्यक पहलकदमी लिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले समाजका विभिन्न विधामा योगदान पु¥याई सम्मानित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई ज्ञापन तथा सम्मानित गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि चाँगुनारायण नगरपालिका वडा नंं ९का वडाध्यक्ष गणेश त्यातले ताथलीको मौलिक जात्रा पर्व, परम्परा, संस्कारलाई भावि पुस्तासम्म हस्तान्तरण गर्न स्थानीय जनतासँग सहकार्य गर्न आवश्यक भएको उल्लेख गर्दै आज भएको वृक्षारोपण कार्यक्रमलाई वातावरण संरक्षणको महत्वपूर्ण कदीको रुपमा लिएको बताउनु भयो । विकासका नाममा भौलिक संरचाना निर्माण गरिरहँदा वातावरणलाई पनि संगसंगै लैजानुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले समाजको सर्वाङ्गीण विकासका लागि स्वास्थ्य क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने बताउँदै स्वास्थ्य विधालाई समेत समावेश गरी समर्पित व्यक्तित्वहरूलाई सम्मान गरेकोमा आयोजक टिमलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
पत्रकार महासङ्घ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जिप शुभचिन्तकले स्थानीय ऐतिहासिक सम्पदा तथा संस्कृतिको प्रचारप्रसारमा प्रविधिको प्रयोगमा जोड दिनुभयो । उहाँले हरेक नागरिकको हातमा रहेको मोबाइल र आधुनिक प्रविधिलाई आफ्नै सम्पदाको प्रवद्र्धनमा प्रयोग गर्न आग्रह गर्दै विकास र संरक्षणका लागि सधैँ अरूको मुख नताकी स्थानीयवासी आफैँ जागरूक हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
पुरातत्वविद् विश्वमोहन जोशीले भक्तपुर क्षेत्र पुरातात्विक र ऐतिहासिक दृष्टिले अत्यन्त धनी रहेको उल्लेख गर्दै यस्ता अमूल्य सम्पदाहरूको खोजी, अध्ययन र संरक्षणमा राज्यका साथै नागरिक स्तरबाट पनि निरन्तर प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
सम्मानित व्यक्तित्व सामाजिक अभियन्ता डा. नवराज काफ्लेले निष्काम भावले गरिने सत्कर्मको मूल्याङ्कन समाजले सुक्ष्म रूपमा गरिरहेको हुन्छ भन्ने कुरा आजको सम्मानले बोध गराएको बताउनुभयो। उहाँले यस्ता सम्मानले सामाजिक सेवा, वातावरण संरक्षण र निःस्वार्थ भावले काम गर्न थप ऊर्जा र जिम्मेवारीबोध गराउने उल्लेख गर्नुभयो।
कार्यक्रममा विशेष अतिथि प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, हेमन्त कार्की, समाजसेवी शान्ताबहादुर लाकजु सहितका अतिथिहरुले वातावरण संरक्षण, स्थानीय विकास तथा सामाजिक सद्भावबारे शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन अञ्जिरसिंह बिकले गर्नुभएको थियो भने अतिथिहरूलाई सन्ध्या लामा र सरस्वती गोसाईंले ब्याच वितरण गर्नुभएको थियो।
सोही अवसरमा वातावरण जोगाउने उद्देश्यका साथ चट्टान अभिलेखको परिसरमा रहेको सार्वजनिक क्षेत्रमा वृहत् वृक्षारोपण गर्नुका साथै समाजका विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई ९ विभिन्न विधामा सम्मानपत्र प्रदान गरियो।
विभिन्न विधामा सम्मानित हुने व्यक्तित्वहरूः
पुरातात्विक संरक्षण विधाः पुरातात्विक तथा ऐतिहासिक धरोहर, प्राचीन चट्टान अभिलेखको खोज एवं अध्ययनमा योगदान पुर्याएबापत इतिहास शिक्षक विश्वमोहन जोशी तथा मुद्रा संकलक एवं संरक्षकद्वय लक्ष्मजीत मल्ल र समृद्धि मल्ल सम्मानित हुनुभयो।
स्वास्थ्य विधाः निःस्वार्थ जनस्वास्थ्य सेवामा खटिनुभएका जनस्वास्थ्य अधिकृत अञ्जना खड्का र सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल सम्मानित हुनुभयो।
उत्कृष्ट जनप्रतिनिधि विधाः सुशासन, स्थानीय विकास र धरोहर संरक्षणमा नेतृत्वदायी भूमिका खेलेका चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, वडा सदस्यहरू विद्यापति थापा, रविन बासुकला, कमला गिरी र सुमित्रा दर्जी सम्मानित हुनुभयो।
सामाजिक योगदान विधाः समाज रूपान्तरण र वृक्षारोपण अभियानमा निरन्तर सक्रिय प्रा.डा. सर्वज्ञभक्त मल्ल, प्रा. कोमल बदन मल्ल र डा. नवराज काफ्लेलाई विशिष्ट सामाजिक सेवा सम्मान प्रदान गरियो।
शिक्षण विधाः शिक्षा र सांस्कृतिक चेतना अभिवृद्धिमा योगदान पुर्याएबापत देवी माविका पूर्व शिक्षक हरिशरण दुलाल र सरस्वती माविका विद्यालय व्यवस्थापक संजीव पुरी सम्मानित हुनुभयो।
सञ्चार विधाः वातावरणीय मुद्दा र पुरातात्विक धरोहरको प्रचार–प्रसारमा योगदान पुर्याएबापत पत्रकारहरू सञ्जीव घिमिरे (शुभचिन्तक– अन्नपूर्ण पोष्ट), अञ्जिर बिक (एनटीभी), कृष्ण किसी (नागरिक दैनिक), देवेन्द्र श्रेष्ठ (मैत्री न्यूज) र संगम लामा सम्मानित हुनुभयो।
कानुन विधाः पुरातात्विक सम्पदाको कानूनी संरक्षणमा योगदान पुर्याएबापत नेपाल बार एसोसियसन भक्तपुरका पूर्व अध्यक्ष रविन्द्र प्रधान र नेपाल बार एसोसियसन काभ्रेका अध्यक्ष देवकुमार मोक्तान सम्मानित हुनुभयो।
खेलकुद विधाः खेल क्षेत्रमार्फत युवा अनुशासन र पहिचान उच्च बनाएबापत राष्ट्रिय कराते प्रशिक्षकद्वय कृष्णराम जाकीबन्जार र सूर्यबहादुर लामा, राष्ट्रिय बक्सिङ रेफ्री तथा कोच केदार तुईतुई र सितेरियो करातेका रामशरण राना सम्मानित हुनुभयो।
कला तथा साहित्य विधाः मौलिक संस्कृति र इतिहासलाई कला–साहित्यमार्फत जीवन्त राखेबापत ईश्वर थोकर, हरिसुन्दर छुका र विकास प्रहर सम्मानित हुनुभयो।
कार्यक्रमको अन्तमा सम्मानित व्यक्तित्वहरूको तर्फबाट विश्वमोहन जोशी र सञ्जीव शुभचिन्तकले आफ्नो मन्तव्य राख्नुभएको थियो। सभापति सुरेशप्रसाद सैंजूले उपस्थित सम्पूर्ण अतिथि, सहयोगी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।











