भ्रष्टाचार विरोधी आन्दोलनले भक्तपुरका जनता सचेत ः बिजुक्छेँ
भक्तपुर, २१ कार्तिक
जनताले राखेको पैसाको हिसाब माग्दा दिन नसकेको र हिसाब पारदर्शी रुपमा देखाउन नसकेको भएर नै भक्तपुरमा भ्रष्टाचार विरोधी आन्दोलन भएको हो । भक्तपुरका सहकारीहरु यही आन्दोलनकै कारण सचेत र सतर्क रहेका छन् ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित)ले शनिबार आयोजित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औं स्थापना दिवसमा राख्नुभएको हो । प्रमुख अतिथि बिजुक्छेँले संस्थाद्वारा प्रकाशित सांस्कृतिक गुरु पंचलाल लाछिमस्यूद्वारा रचित ‘नौ बाजाका बोलहरु’ लोकार्पण गर्दै देशकै बाजागाजाको राजधानी भक्तपुरको पहिचानलाई जिबन्त राख्न यस्तो पुस्तकको प्रकाशनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर बचतले हालसम्म गरेको कामको सराहना गर्दै इमान्दार र पारदर्शिताले संस्थाप्रति जनताको विश्वास रहने बताउनुभयो । उहाँले सहकारी संस्था र बैंकबीचको भिन्नता जनतालाई बुझाउनुपर्ने बताउँदै तल्लोस्तरका गरिब किसानहरुको हितमा कृषि सहकारी सुरु भएको स्पष्ट पार्नुभयो । युवाहरु विदेश पलायन गरी कृषि क्षेत्र धरासायी बनाएको र नेपाललाई हिन्दुस्तानको बजार बनाउनेमा सरकार अघि सरेको बताउँदै उहाँले सहकारीका सञ्चालकहरु इमान्दार भए कृषि क्षेत्रको विकास गर्न सक्ने औंल्याउनुभयो । सहकारीले गरिबका पैसा संकलन गरी ठूला ब्यापारीलाई पोस्ने काम नमिलेको बताउँदै सहकारी संस्थालाई संकटमा पु¥याउन सरकारीस्तरकै मान्छेको संलग्नता भएको बताउनुभयो ।


साथै उहाँले नयाँ पुस्तालाई इमान्दार भएर काम गर्न सिकाउनुपर्ने र संस्थाले गरिब तथा जेहेन्दारका लागि दिएको छात्रवृत्ति कोषले छात्रवृत्ति पाएका विद्यार्थीलाई देशकै सेवामा समर्पित हुन प्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले हिसाब पारदर्शी रुपमा राख्न दक्ष अर्थशास्त्रीबाट प्रशिक्षण तथा तालिमहरु दिनुपर्नेमा जोड दिँदै भ्रष्टाचाररहित संस्था कायम राख्न इमान्दारीको राजनीति सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर न.पा. ९ वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले संस्थाबाट नियमित रुपमा विभिन्न कार्यक्रममार्फत सदस्य र जनतालाई पारदर्शी रुपमा संस्थाका गतिविधिबारे अवगत गराएको बताउँदै उहाँले वडाका सम्पूर्ण गतिविधिबारे जनताबीच जानकारी दिइरहेको बताउनुभयो । भक्तपुर जिल्ला अदालतमा आएका लेनदेन मुद्दाबारे स्पष्ट पार्दै ठूला रकमको लेनदेनमा युवाहरु फसेको उहाँको भनाइ छ । मोबाइल र सामाजिक सञ्जालको प्रयोग गरी परिवारको सम्पत्ति नै सकाएको सन्दर्भ जोड्दै उहाँले हरेक घरमा त्यसबाट जोगिन छोराछोरीप्रति नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले देको मिवा इतापाके आयोजनाबारे जनताको पक्षमा निर्णय गरेकोबारे स्पष्ट पार्दै जनताको गुनासो सम्बोधन गर्न विभिन्न सेवा सुविधाहरु प्रदान गरिरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिकृष्ण बल्लले समुदायमा आधारित प्रारम्भिक संस्थाहरुको संघ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको स्थापनादेखि नै भक्तपुर बचतको देन अतुलनीय रहेको बताउँदै उहाँले संस्थाबाट प्रकाशित नौ बाजाका बोलहरु पुस्तकले नयाँ पुस्तामा सिक्न सिकाउन सहज हुने औंल्याउनुभयो । सहकारी प्राधिकरणबाट आएका विभिन्न निर्देशनहरुबारे स्पष्ट पार्दै राज्यले सहकारीलाई नियन्त्रण गरी बैंक पोस्न लागेको औंल्याउनुभयो । दुई चारवटा खराव सहकारीका कारण राम्रा समुदायमा आधारित संस्थालाई समेत असर पर्ने गरी ल्याएको नीति नियमको विरोधमा संघले १२ बुँदे ध्यानाकर्षण पत्र समेत दिएको जानकारी दिनुभयो ।
संस्थाका सल्लाहकार एवम् पूर्व अध्यक्ष रत्नप्रसाद प्रजापतिले अग्रजहरुको स्वच्छ, इमान्दार र निःस्वार्थ रुपमा सेवा गर्ने शिक्षाबाट संस्था अघि बढेकोले आजसम्मको प्रगति भएको बताउनुभयो । उहाँले संस्थाको दिगो विकासका लागि विभिन्न समयमा दिएका तालिमले काम गरेको बताउँदै संस्थाप्रतिको विश्वासले आर्थिक र सामाजिक रुपमा मजबुत रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले बचत तथा ऋणको रुपमा रहेपनि संस्थाले अर्थसँगै शिक्षा, कृषि, खेलकुद, संस्कृति र सामाजिक कार्यमा लगानी भइरहेको स्पष्ट पार्नुभयो । संस्थाले दिएको व्यावसायिक तालिमको सदुपयोग गर्दै विभिन्न क्षेत्रमा सदस्यहरुले रोजगारी पाएको उहाँको भनाइ छ । साथै सांस्कृतिक गुरुहरुको श्रद्धा पुस्तकमा रुपान्तरण गरिएको बताउँदै संस्थाले प्रतिक्रिया आएअनुसार अद्यावधिक गर्दै जाने उहाँले बताउनुभयो ।
संस्थाका कोषाध्यक्षले संस्थाको वित्तीय अवस्थाबारे प्रतिवेदन दिएको उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मी प्रसाद कुसी, सचिव जगनाथ प्रजापति, सहसचिव तारादेवी धन्छा, सदस्य रामेश्वरी कोजुलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले हालसम्म संस्थाको सञ्चालक समिति र लेखा समितिमा बसेर काम गर्ने पूर्व पदाधिकारीहरुलाई कदर पत्र प्रदान गरेको थियो । साथै संस्थाका अध्यक्षबाट प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो र नौ बाजा प्रशिक्षणका क्रममा बाजा प्रदान गरी सहयोग गर्नुहुने संघ, संस्था र महानुभावहरुलाई धन्यवाद पत्र वितरण गर्नुभएको थियो ।













