साहित्यकार सूब सेनका पाँच कृतिहरू एकै दिन लोकार्पण

साहित्यकार सूब सेनका पाँच कृतिहरू एकै दिन लोकार्पण
काठमाडौँ
दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा साहित्यकार सूब सेनका पाँच कृतिहरू एकै दिन लोकार्पण गरिएको छ ।
लोकार्पण समारोहमा सभापति चर्चित साहित्यकार भागीरथी श्रेष्ठ, प्रमुख अतिथि पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, लेखक सूब सेन, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, समीक्षकहरू प्रा.डा. रामदयाल राकेश, ठाकुर शर्मा भण्डारी र प्रा.डा. भागवत ढकालले पालैपालो कृतिहरू लोकार्पण गर्नुभएको थियो ।
समीक्षकहरू मध्ये रामप्रसाद पन्तले ’व्यक्ति एक दृष्टिमा अनेक’ टिप्पणी सङ्ग्रहको सूत्रसमीक्षा प्रस्तुत गर्नुभएको थियो भने प्रा.डा. रामदयाल राकेशले ‘शिवश्याम’ उपन्यासको, ठाकुर शर्मा भण्डारीले ’असाधारण बुवामुवाको साधारण छोरो’ संस्मरणको, प्रा.डा. भागवत ढकालले ’हस्ताक्षर भूमिकासङ्ग्रह’को र पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘उमा–गौरी’ सामाजिक उपन्यासको समीक्षा गर्नुभएको थियो ।
समीक्षकहरूले ८६ वर्षको उमेरमा यसरी पाँचपाँचवटा कृति निकालेर आफ्नो सिर्जनात्मक क्षमता देखाएकोमा लेखक सेनको भरपुर प्रशंसा गर्नुभएको थियो ।


ठाकुर शर्मा भण्डारीले एउटा कविता वाचन गरेर संस्मरण पुस्तकको सार प्रस्तुत गर्नुभएको थियो भने साहित्यिक कार्यक्रममा धेरै लामो अन्तरालपछि देखापरेका प्रा.डा. रामदयाल राकेशले ’शिवश्याम’ उपन्यासलाई तराईको मिनी डिक्सनरी हो सम्म भन्नुभएको थियो । यसरी नै समीक्षकद्वय गङ्गाप्रसाद उप्रेती र प्रा.डा. भागवत ढकालले सूब सेनका ६५ वटा भन्दा बढी कृतिहरू प्रकाशित भइसकेको भनेर प्रशंसा गर्नुभएको थियो । ती पुस्तकहरू कुनै १२००÷१३०० पृष्ठका र कुनै २५÷३० पृष्ठका पनि भएको कुराको जानकारी गराउनुभएको थियो ।
राष्ट्रगानबाट शुरू भएको कार्यक्रममा नेपाल सरकारका सहसचिव हुमकला पाण्डेबाट स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो भने सुनीता सेनले अतिथिहरूलाई माला अर्पण गर्नुभएको थियो । यसैगरी लेखकपुत्र सुयशप्रताप सेन र प्रा. हेमन्तशमशेर राणाले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
दायित्व वाङ्मय प्रतिष्ठानका महासचिव यादव भट्टराईद्वारा सञ्चालित लोकार्पण समारोहमा लेखक सूब सेन र सभापति भागीरथी श्रेष्ठले गुल्मी जिल्लालाई नमस्कार गर्दै सहभागी व्यक्तित्वहरू बारे बोल्नुभएको थियो ।
८६ वर्षीय लेखकले भन्नुभएको थियो – “यहाँहरूको शुभेच्छाले मलाई बूढो हुन कहाँ दिएको छ र ? नमरी बाँचे कालले साँचे फेरि अवश्य भेटौँला ।”