भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम र BMI परीक्षण सम्पन्न

भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम र BMI परीक्षण सम्पन्न
भक्तपुर,
मिवाछें महिला समुहकाे आयाेजना र नेपाल हृदयराेग निवारण प्रतिष्ठान,भक्तपुर शाखाकाे महिला सहक्तिकरण उपसमितिकाे सहआयाेजनामा एभरेष्ट इङ्गलिश स्कूल, मिवाछें, भक्तपुरमा वरिष्ठ कार्डियाे भास्कुलर सर्जन तथा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष डा. प्रेम राज बैद्यले मुटुराेगबाट बच्न अपनाउनुपर्ने उपाय र जीवनशैली परिवर्तनबारे सचेतनामूलक प्रस्तुतिकरण र प्रतिष्ठानकाे गाे रेड फर वमनका केन्द्रीय संयाेजक रामप्यारी वस्नेत बज्राचार्यले मुटु मैत्री पाकशाला र महिलाहरूमा लाग्ने मुटुराेग राताे संकट सूचक सम्बन्धी प्रशिक्षणात्मक प्रस्तुतिकरण गर्नुभएकाे थियाे । महिला सशक्तिकरण उपसमितिका संयाेजक रत्नमाया सुवालकाे संयाेजनमा सम्पन्न साे कार्यक्रममा प्राविधिकहरू सरिता याकामी गाेसाईं, कृष्णशाेभा मिलापति, देवकी कंडेल, जमुना काफ्ले लगायतबाट BMI परीक्षण तथा रक्तचाप मापन कार्य सफलतापूर्वक सम्पन्न गरिएकाे थियाे । उक्त परीक्षणमा ५० जना सहभागी मध्ये ३१ जना महिला र ५ जना पुरूषले सक्रिय सहभागिता जनाएकाे थियाे ।

प्रतिष्ठानले तयार पारेकाे प्रतिवेदन अनुसार १९ जनामा उच्च रक्तचाप देखिएकाे, सामान्य ताैल ६ जना, बढी ताैल १४ जना र माेटाेपना १६ देखिएकाे थियाे । महिला समूह मिवाछेंका सविता राजाेपाध्यायकाे सहजिकरण र विद्या राजभण्डारीकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सभापति राजुराम मुनंकर्मी र एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारी, रत्नमाया सुवाललगायतले धारणा राख्नुभएकाे थियाे । उक्त कार्यक्रममा शाखाका उपसभापति विश्वमाेहन जाेशी, सल्लाहकार सुरेन्द्र मान बिजुक्छें , काेषाध्यक्ष सुन्दर सुवाल, सहकाेषाध्यक्ष कृष्ण गाेसाई र कार्यसमिति सदस्यहरू पशुपति भक्त राय र चन्द्रशाेभा सालिकेकाे सक्रिय सहभागिता रहेकाे थियाे ।
अन्तमा मिवाछें महिला समुहकाे तर्फबाट विद्या राजभण्डारीले धन्यबाद ज्ञापन गर्दै प्रस्तुतिकर्ता अतिथिहरूलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे भने प्रतिष्ठानका सभापतिकाे तर्फबाट पनि मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।