जगाती प्रहरी बृत्त पुन सञ्चालनकालागि समिति गठन, समुदायको सहयोगबाट पुनःनिर्माण गर्ने तयारी
भक्तपुर, भाद्र २९ गते
गत भाद्र २४ गतेको जेनजीको नाममा तोडफोड भएको जगाती प्रहरी वृत्त पुनः सञ्चालन गर्न ३५ देखि ४० लाख खर्च लाग्ने भएको आज इष्टिमेट गर्दै पुनःनिर्माण समिति बनाएको छ । जगाती प्रहरी वृत्त परिसरमा आज भएको एक भेलाबाट भक्तपुर किक वक्सिङ संघका अध्यक्ष कृष्णराम जाकिबन्जारको अध्यक्षतामा पुनः निर्माण समिति बनाउँदै आवश्यक खर्च स्थानीय समुदायको आर्थिक, भौतिक सहयोगबाट निर्माण गर्ने निर्णय गरेको छ । सामाजिक सञ्चाल खुलाउने र सुशासनको माग गर्दै आयोजित जेन जीको आन्दोलनमा होमिएका कलिला युवाहरुलाई ताकि ताकि प्रहरीले गोली चलाई हत्या गरेको भत्सना गर्दै विभिन्न प्रहरी चौकी तोडफोड र आगजनी गर्ने क्रममा जगाती वृत्तमा रहेको हात हतियार सहित भवन सम्रचनाहरु तोडफोड र आगजनी भएको थियो ।


आजै नगरपालिकाको इन्जिनिरहरुले क्षति विवरण संकलन गर्दै पुनः सञ्चालनकालागि रु.३५।४० लाख खर्च लाग्ने इष्टिमेट भएपछि स्थानीय समाजसेवी, जनप्रतिनिधीहरुको सहभागितामा स्थानीय जनताको आर्थिक भौतिक सहयोगबाट चौकी पुनः निर्माण कार्य सुरु भएको अध्यक्ष जाकिबन्जारले जनाएको छ । उहाँले भन्नु भयो, जनताको शान्ति सुरक्षाका लागि प्रहरी सेवा चाहियो भनेर हिजो अस्ति सरफाई गरियो, आज भएको भेलाले आफ्नो अध्यक्षतामा ७ सदस्यिय पुनःनिर्माण समिति बनाएको छ । अब हामी स्थानीय जनता, व्यापारीहरुको आर्थिक भौतिक सहयोग संकलन गरी अवको डेर महिनाभित्र हस्तान्तरण गर्ने गरी जगाती प्रहरी वित्त पुनः सञ्चालनमा ल्याउने छौं ।
अध्यक्ष जाकिबन्जारका अनुसार आजबाटै आर्थिक र भौतिक सहयोग हुन थालेपनि बैक खाता खोलेर पारदर्शिरुपमा हिसाव किताव राखेर मात्रै सहयोग संकलन र पुनः निर्माण गर्ने भएकोले भोली देखि मात्रै सहयोग संकलन कार्य थालिन हुने बताएका छन् । रु. दश हजार भन्दा बढी सहयोग गर्नेलाई सम्मान पत्र दिने तथा हरेक सहयोगको रसिद दिने गरी आर्थिक सहयोग संकलन गर्ने उहाँले बताए । आज सहभागि भएकाहरुले कसैले ५० बोरा सिमेन्ट त कसैले १०। २० हजार आर्थिक सहयोग गर्ने घोषणा भएको भन्दै उहाँले यसैगरी स्थानीय जनताको सहयोगबाटै जगाती प्रहरी वित्त पुनः सञ्चालनमा ल्याउने बताउनु भयो । भक्तपुर जिल्लामा रहेका ४१ बटा प्रहरी कार्यालय, बृत्त र चौकीहरु मध्ये २ बाट मात्रै सुरक्षित रहेका थिए भने अन्य ३९ वटामा आगजनी र तोडफोड भएको थियो । यता मध्यपुर थिमी स्थित प्रहरी वृत्तको पनि निलबाराही क्षेत्र संरक्षण समितिका पदाधिकारी सहित स्थानीय जनताको आर्थिक भौतिक सहयोगबाट प्रहरी वृत्त पुनः निर्माण हुन थालेको छ । सूर्यविनायक चोकको चौकी पनि स्थानीय जनताको सहयोगबाट पुनः मर्मत गरी सञ्चालनमा ल्याइसकेको छ भने जगाती प्रहरी बृतको पनि भोलीदेखि मर्मत कार्य सुरु गरी अवको डेर महिनाभित्र सञ्चालनमा ल्याउने अध्यक्ष जाकिबन्जारले जनाएको छ ।
आज गठन गरेको जगाती पुननिर्माण समितिको अध्यक्षमा कृष्णराम जाकिबन्जार, उपाध्यक्षमा केशव कवा, सदस्यहरुमा गोविन्द कार्की, राकेश थापा, जीवन कवां, अमृत घिसिङ र रवी कृष्ण श्रेष्ठ रहेका छन् ।














