६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरका उत्कृष्ठ सहकारी घोषणा
भक्तपुर, चैत्र २० गते
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला र नगरस्तरीय उत्कृष्ठ सहकारी घोषणा भएको छ । आज भक्तपुरका चारवटै नगरपालिकाहरुमा नगरस्तरीय सहकारी प्रभातफेरी आयोजना गर्दै ६८ औं राष्ट्रिय सहकारी दिवस मनाएका हुन । सो अवसरमा भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघले सदस्य सहकारीहरु बीचको मूल्यांकनका आधारमा उत्कृष्ठ सहकारी घोषणा गरेका छ । तैमढी भक्तपुरमा आयोजित सभाबाट यस वर्षको उत्कृष्ठ सहकारीमा चाँगुनारायण नगरपालिकाको नगरकोटमा रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि.जिल्लाको उत्कृष्ठ घोषित भएको छ । नगरस्तरमा भक्तपुर नगरपालिकाको उत्कृष्ठ सहकारीमा लोकेश्वर साकोस रहन सफल भएको छ भने मध्यपुर थिमी नगरपालिकामा बालकृमारी साकोस, सूर्यविनायक नगरपालिकामा सुवर्णपुर साकोस र चाँगुनारायण नगरपालिकामा देवी महिला साकोस उत्कृष्ठ भएका हुन । उत्कृष्ठ भएका सहकारीले बैखाब २१ गते पुरस्कृत गर्ने भएको छ । एकपटक उत्कृष्ठ भएको सहकारीलाई ५ वर्षपछि मात्रै मूल्यांकन गरिने आयोजक समितिले जनाएको छ ।
आज भक्तपुर नगरपालिका स्तरीय सहकारी प्रभातफेरीमा कमलविनायक र दुधपाटीबाट र्याली तौमढीमा पुगेर सभामा परिनत भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारीलाई बैंकको एजेण्टको रुपमा होइन आत्म निर्भरता, स्वरोजगारका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनु भयो । भक्तपुर भक्तपुरका जनताले बनाउने हो भन्दै नगर प्रमुख प्रजापतिले कुनै बेला खाद्यान्न भारत, पाकिस्थानसम्म पुग्ने गरेको तर अचेल दाल चामल समेत विदेशबाट ल्याउनुपर्ने अवस्था हुनु र नेपाली उत्पादनलाई भारतले लिन नचाहेको अवस्थाबाट नेपाल अझै पनि नाकाबन्दीकै अवस्थामा रहेको प्रष्ट हुन्छ भनेका छन् । संघका सचिव जगनाथ प्रजापतिको सभापतित्वमा आयोजित सो प्रभातफेरीमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी अध्यादेशका कमजोरीमाथि टिप्पणी गर्दै सहकारीमा वचतको सिमा तोक्न गलत भएको बताए उहाँले भने सहकारीको संचालकमा दुईकार्यकाल भन्दा बढी बस्न नमिल्ने, दुई भन्दा बढी सहकारीमा सदस्य हुन नहुने प्रावधान व्यवहारिक छैन ।













