मध्यपुर महोत्सवको अन्तिम तयारी, उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

मध्यपुर महोत्सवको अन्तिम तयारी, उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने
भक्तपुर, पुस ११ गते
पर्यटन प्रर्वधन र आर्थिक विकासकालागि मध्यपुर थिमीमा भोली देखि हुने ३ दिने मध्यपुर महोत्सवको अन्तिम तयारी पूरा गरेको नगरपालिकाले जनाएको छ । आज मध्यपुर थिमीस्थित शंषधरचोक देखि बालकुमारी, चपाचो, बाखा बजार, नगदेश, बोडे र तिंगनीसम्मको स्थलगत निरिक्षण गर्दै मध्यपुर थिमी नगरपालिकाले महोत्सवको अन्तिम तयारी पूरा गरेको जनाएको हो ।


करिव ४ सय वटा स्थलहरु सहित मध्यपुर महोत्सवको तयारी भएको भन्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बालकुमारीमा बुद्ध मुर्तिहरु, पार्टी विहारमा मुनिबिहारबाट गौतम बुद्धको अस्थि धातु र बुद्धप्रतिमाहरुको प्रदर्शनी स्थल पनि राखिने गरी महोत्सवको थप तयारी भएको जनाए । अवलोकन कर्ताहरुलाई निःशुल्क बस सेवाको समेत व्यवस्था गर्दै महोत्सवलाई थप व्यवस्थित पार्न सरसफाई, खानेपानी, प्राथमिक उपचार, पाकिंङग स्थलहरुलाई व्यवस्थित पारेको नगर प्रमुख श्रेष्ठले जनाएको छ ।
महोत्सवको उद्घाटन भोली विहान ९ः३० बजे उपप्रधान मन्त्री प्रकाशमान सिंहबाट गर्ने गरी बालकुमारी चोकमा उद्घाटन समारोह गर्ने नगरपालिकाले कार्यक्रम तय गरेको छ ।
नगरका ठाउँ ठाउँमा स्वागत गेटहरु निर्माण गरिएका छन् भने चपाचोमा माटाका भाडाकुडाको आकर्षण ध्वाका निर्माण गरिएको छ । यसै बीच महोत्सवको आकर्षण स्थान बोडेको कुमारी मन्दिरको पूर्वतर्फको मागमा डम्पिङ गरिएको फोहरहरु सफा गरिएको छ भने तिगनीको हैतिहासिक ध्वाक निर्माण कार्य पूरा नभएपनि सो क्षेत्रको पहिचान झल्किने गरी तिगनीको बजी उत्पादन र प्रदर्शनीलाई प्रत्यक्ष प्रस्तुतीको तयारी गरेको छ ।