समुदायमा आधारित सहकारीले जनहितकारी कार्य गर्नुपर्नेमा जोड

समुदायमा आधारित सहकारीले जनहितकारी कार्य गर्नुपर्नेमा जोड
भक्तपुर, भाद्र ५ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले समय साकोसको १४ औं वार्षिक साधारण सभाको आज महेश्वरी बैक्वेटमा उद्घाटन गर्नु हुदै समुदायको शिक्षा, स्वास्थ्य, सिप र रोजगारी लगायतका विषयमा सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । अध्यक्ष विजुक्छेले सहकारीको नाममा जनतालाई ध्वका दिएर निजी फाइनान्स र बैंक बनाउने कार्य भइरहेको प्रति आलोचना गर्दै सहकारी अभियानबाट कृषि र श्रमउत्पादन वृद्धि गरी देश विकास गर्ने तर्फ सरकारले ध्यान दिन नसकेको टिप्पणी गर्नु भयो । नेप्स्कुन, जिल्ला बचत संघका प्रतिनिधीहरुले पनि सहकारी अभियानहरु बारे आआफ्नो धारणा व्यक्त गरेको सो कार्यक्रममा शिक्षक ज्ञानसागर प्रजापति र वडाअध्यक्ष केपी कोजू सहितका अतिथीहरुले बढी व्याजको लोभमा पर्दा र समुदायमा आधारित सहकारीलाई चिन्न नसक्दा सहकारीको नाममा समुदायको अर्वौ रकम फसेको चर्चा गर्दै समुदायमा आधारित सहकारीको भूमिका बारे आआफ्नो धारणाहरु व्यक्त गरेका थिए ।
एक हजार ७३ पुरुष र ९१६ महिला सहित २ हजार १ सय ८९ सदस्य एवं ३२६ बाल बचतकर्ता रहेको सो सहकारीले गत आर्थिक वर्षमा २६ करोड ९९ लाख एक हजार एक सय को शेयर पूँजीका साथ २३ करोड, १७ लाख, ५९ हजार ३०७ रुपियाँ बचत गर्दै १७ करोड ८५ लाख, ७० हजार चार रुपियाँ ऋण प्रवाह गरेको संस्थाका सचिव लक्ष्मीप्रसाद छुस्यावागले जनाएको छ । शेयर लाभांस तथा सरक्षित पूँजी फिर्ता कोष वितरण समेत गरेको सो साधारण सभामा उत्कृष्ठ बचत कर्ता तथा ऋणकर्ता एवं चिठ्ठाम उत्कृष्ठहरुलाई प्रमुख अतिथि विजुक्छेले पुरस्कृत गरेका थिए ।