गाइजात्राकाे राैनकसँगै भसासले गर्याे ७८ औं घुमन्ते साहित्यिक श्रृङ्खला

गाइजात्राकाे राैनकसँगै भसासले गर्याे ७८ औं घुमन्ते साहित्यिक श्रृङ्खला
भक्तपुर ।
भक्तपुरमा सप्ताहव्यापी मनाइने गाइजात्राकाे अन्तिम दिनमा नगरभित्र घेन्ताङ्गीसी र अन्य परम्परागत नाचगान,ख्याल तथा अन्य प्रदर्शन दिनभरि नै चलिरहेकाे थियाे भने उता पारी सल्लाघारीस्थित सूर्यदीप स्कूलकाे व्यवस्थापनमा भक्तपुर साहित्यिक समाज (भसास) ले आयोजना गरेकाे नियमित घुमन्ते साहित्यिक वाचन श्रृंखलाको ७८ औं संस्करणमा वर्तमान बेथितिमाथि प्रहार गर्न र समयमै सुध्रिन सचेत गराउन स्रष्टा, सर्जकहरूकाे खचाखच जमघट भईसकेकाे थियाे यस संस्करणलाई विशेष बनाउन गाईजात्रा महोत्सवसँगै समाजको २५ औं स्थापना दिवसलाई पनि जोडिएको थियो । कार्यक्रममा वरिष्ठ देखि कनिष्ठसम्मका स्रष्टा, सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमको परम्परा अनुसार दिवंगत साहित्यकारलाई सभापतिमा राख्ने चलनलाई निरन्तरता दिँदै, यसपटक नेपाली हास्यव्यंग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको तस्विरलाई सभापतिका रूपमा राखिएको थियो । कार्यक्रममा समाजका अध्यक्ष राजुराम मुनकर्मीले पानशमा बत्ती बालेर शुभारम्भ गर्नुभएकाे थियाे भने समाजका सचिव पुरुषोत्तम प्रजापतीले भैरव अर्यालको जीवनीमा प्रकाश पार्दै उहाँका चर्चित रचनाहरू वाचन गर्नुभएकाे थियाे । त्यस्तै, कार्यक्रमको प्रारम्भमा सूर्यदीप स्कूलका प्रधानाध्यापक लक्ष्मीप्रसाद प्रजापतीले भैरव अर्यालको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।
साहित्यिक उत्सवका क्रममा नारायण तिवारी, कृष्ण बाउसे, सुभाषचन्द्र पौडेल भिमफेदिया, ललिता दोषी, विनोद खड्का, सुशीला प्रधानांग, राजेशमान केसी, माणिकबाबु ग्वंग:, विश्व बहादुर दुवाल, सुरेश राजभण्डारी, कविन्द्रलाल प्रधान, सन्ताेष भुजेल , राजेन्द्र चित्रकार, राजन कार्की, पवित्रा दाहाल, ईश्वर थोकर, श्याम माकजु, बिनुबाबा घिमिरे, सुदिप हाडा, गुह्येश्वरी प्रधान शाक्य, डा. राजेन्द्र कोजु, मिमला शर्मा, राजुराम मुनंकर्मीलगायत २६ जना साहित्यकारहरूले आ–आफ्ना चाेटिला, रसिला, घाेचिला र मीठा कविता, गीत, गजल, लघुकथा वाचन गर्नुभएकाे थियाे । तीमध्ये विद्यालयका विद्यार्थी स्वस्तिका खड्का, करिश्मा पौडेल र सक्षम नेपालले पनि आफ्ना सिर्जनात्मक रचनाहरू प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रमलाई संगीतात्मक स्वाद दिन सचन्द मल्लले विभिन्न प्रकारका बाँसुरीमा मनमोहक धुन प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा समाजको तर्फबाट सूर्यदीप इङगलिश स्कूललाई शिक्षक मोहन भुजेल मार्फत् विशेष योगदानको कदरस्वरूप सम्मानपत्र प्रदान गरिएको थियो ।
भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनकर्मीले समाजका विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी योजनाबारे जानकारी गराउँदै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । उहाँले २५ वर्षको यात्रामा समाजले नेपाली साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदान स्मरण गर्दै साहित्यिक आन्दोलनलाई अझ व्यापक बनाउन प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रमको क्रममा फ्रान्सेली नागरिक तथा विश्वविद्यालयका प्राध्यापकले समेत विशेष रुचि साथ वाचन सुन्नुभएकाे थियाे । करीब दुई घण्टासम्म चलेको कार्यक्रममा साहित्य, संगीत र संवादको रमाइलो संगम देखिएको थियो । कार्यक्रमपछि सहभागीहरूलाई सूर्यदीप ईंगलिस स्कूलको तर्फबाट क्वाटीकाे मीठाे स्वादसँगै खाजाको व्यवस्था गरिएको थियो ।