सवारी दुर्घटना न्यूनिकरणकालागि सडकमै लाइसेन्सको परीक्षा लिनुपर्ने

सवारी दुर्घटना न्यूनिकरणकालागि सडकमै लाइसेन्सको परीक्षा लिनुपर्ने
भक्तपुर, बैशाख ९ गते
सडक दुर्घटना न्यूनिकरणकालागि सवारी चालक अनुमति पत्र को परीक्षा सडकमै लिनुपर्ने अवस्था आएको भन्दै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख पोषराज पोखरेलले एक हप्ताको ट्रायस सेन्टरको अभ्यास र ट्रायलमा दिएको परीक्षाको पनि ७० प्रतिशत पास गरेपछि सवारी अनुमति पत्र पाउने वतर्मान नीतिगत व्यवस्थामा सुधारको खाँचो औल्याएका छन् । काठमाण्डौ उपत्यका ट्राफिक कार्यालय भक्तपुरले तौमढीमा आज आयोजित साँस्कृतिक कार्यक्रममा बोल्नु हुँदै उहाँले काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयले सप्ताह व्यापीरुपमा ट्राफिक सप्ताह मनाइरहँदा उपत्यकामा भएका विभिन्न सवारी दुर्घटनाबाट ३ जनाले ज्यान गुमाएको स्मरण गर्नु भयो । उहाँले ट्राफिक दुर्घटना न्यूनिकरणले घनजनको क्षति कम गर्न सकिने भन्दै ट्राफिक सचेतनाकालागि सबै पक्षलाई आग्रह गर्नु भएको हो । यात्रु, चालकहरुमा सचेतना अभिवृद्धि हुन सके सडक दुर्घटनामा कमि आउने औल्याउँदै उहाँले जनचेनता र मापसे र लापसेमाथि भएको कार्बाही बढाएपछि सडक दुर्घटनामा कमि आएको बताउनु भयो । ट्राफिक प्रहरीले सवारी कार्वाही बढाएर बढी राजश्व संकलन गरी कमिसन खान्छ भन्नु झूठो कुरा भएको भन्दै उहाँले ट्राफिक प्रहरीले गरेको कार्वाहीबाट उठेको पैसा ट्राफिक प्रहरीकोमा नभई नेपाल सरकारको खातामा जम्मा हुने प्रष्ट पार्नु भयो।


उपत्यकाको ट्राफिक व्यवस्थापनलाई एकृकीत प्रणालीमा जोडेर सूचनाप्रविधिको प्रयोगबाट सडक जाम र दुर्घटना न्युनिकरणमा काठमाण्डौ उपत्यका ट्राफिक कार्यालय क्रियाशिल रहेको बताउनु भयो ।
उहाँले ट्राफिक चिन्हहरुलाई राम्रोरी बुझेर चिन्हहरुको सही प्रयोग गर्न सके मात्र पनि ट्राफिक दुर्घटना कम गर्न सकिने धारणा राख्नु भयो ।
ट्राफिक सप्ताहको आठौ दिनमा आज भएको सांस्कृतिक कार्यक्रममा ट्राफिक सचेतनाका विभिन्न ब्यानर प्रदर्शनी, पर्चा र पोस्टर वितरणका साथै विभिन्न मनोरञ्जनात्मक गीत संगित मार्फत नेपाल प्रहरी र ट्राफिक प्रहरीहरुको सांस्कृतिक टोलिहरुले विभिन्न सांस्कृतिक नाँच गानहरु प्रस्तुत गरेका थिए ।