शिक्षकलाई धन भन्दा विद्यार्थी नै ठूलो सम्पति

आर्दश आजाका शिक्षक कायष्ठ र चिकंबन्जारले लिए अवकाश

शिक्षकलाई धन भन्दा विद्यार्थी नै ठूलो सम्पति

भक्तपुर, असोज १५ गते
एक असल शिक्षकलाई आफूले कमाएको धन भन्दा असल विद्यार्थी नै ठूलो सम्पति भएको भन्दै विज्ञान विषयका शिक्षक एवं आदर्श आजाद मावि, कलेजका सह प्राचार्य राजेन्द्र कायष्ठले भोलि देखि अवकास लिने घोषणा गर्नु भएको छ । आज आदर्श आजाद माबिले आयोजना गरेको विदाई कार्यक्रममा कायष्ठले शिक्षक भन्दा विद्यार्थी जानियो भने मात्र शिक्षकको कर्तव्य पूरा हुने धारणा व्यक्त गर्नु भयो । भनपा ५का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान विजुक्छेको प्रमुख आतिथ्यतामा आयोजित सो विदाई कार्यक्रममा प्लस टुका नेपाली साहित्य शिक्षक आशकुमार चिकंबन्जारले पनि विदाई लिएका थिए ।
विद्यालयका प्राचार्य श्रीकृष्ण किसीको सभापतित्वमा आयोजित सो कार्यक्रममा शिक्षक कायष्ठ र चिकंबन्जारको व्यक्तित्व र शैक्षिक जीवनका बारेमा अतिथीहरुले चर्चा गरेका थिए भने उहाँहरुले पनि आआफ्नो शिक्षण पेसाका अनुभवहरु सुनाउनु भयो ।


सह प्राचार्य चक्रबहादुर चाकतुले स्वागत मन्तव्य ब्यक्त गरी सुरु भएको सो विदाई कार्यक्रममा सयौं शिक्षक विद्यार्थीहरुले फुलको माला, खाडा ओडाएर तथा केक काटेर शिक्षकहरुलाई विदाई गरेको थियो ।


शिक्षक कायष्ठले आफ्नो ४० वर्षको शिक्षण पेसामा आदर्श आजादमा मात्रै ३७ वर्ष अध्यापन गर्नु भएको प्राचार्य किसीले जनाए । शिक्षक कायष्ठ २०४० देखि २०४३।११।९ सम्म विद्यार्थी निकेतन मावि र २०४३।११।१० देखि २०८०।०६।१५ सम्म आदर्श आजाद माविमा अध्यापन गरी उमेरहदकाकारण मंगलबारबाट अवकास लिने भएका हुन ।


यसै गरी २०६४ साल ०४।०१ गते देखि कक्षा ११ र १२को दरबन्दी शिक्षकमा कार्यरत आशकुमार चिकंबञ्जारले पनि आज विद्यालयबाट विदाई लिएकोे छ । उहाँको अनिवार्य अवकास मिति २०८०।०५।१५ थियो ।
शिक्षा भनेको किसानको ज्ञान पनि ठूलो हुने भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजुक्छेले शिक्षकहरु कहिल्यै रिटार नहुने सधै टायर रहने चर्चा गर्दै सो अवसरमा उहाँले रिटारपछि शिक्षकहरु पुर्नजीवन पाएजस्तै पुन: सक्रिय हुने विश्वास व्यक्त गर्नु भयो । प्राचार्य किसीले सो अवसरमा आदर्श आजादबाट पढेर गएका विद्यार्थीहरु देश विदेशका विभिन्न उच्च पद्मा समेत पुगेको देख्दा विद्यालयले गुणस्तरीय शिक्षा दिन सफल भएको भनाई राख्नु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सत्यनारायण दिदीया, शिक्षक राकेश सुकुपायोले पनि बोल्नुभएको थियो ।