बेखाल बचतको १६ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन

बेखाल बचतको १६ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भक्तपुर, असोज १३ गते
बेखाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज १६ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । नेमकिपाका केन्दीय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले पानसमा दिप प्रज्वलन गरी बेखाल साकोसको १६ औं साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका हुन । बागमति प्रदेशका सदस्य समेत रहेका गोसाईले सहकारी संस्था समाजकालागि चाहिने सिकाई केन्द्रको रुपमा विकास गर्न सके मात्रै लक्ष्य पूरा हुने बताउनु भयो । संसारमा पैसा भएका तर मन नभएका र मन भएका तर पैसा नभएकाहरु धेरै रहेको चर्चा गर्दै सहकारी संस्थाहरुले सबैको सँगसँगै भलो हुने उद्देश्य लिनुपर्नेमा जोड दिनु भयो । एक दुई जना मात्रै धनी र सबल भएर नपुग्ने उल्लेख गर्दै सहकारी संस्थामा त्यस्तो देखियो भने सहकारीमा केही गरबदी छ भन्ने बुझ्न सकिने धारणा राख्नु भयो । संस्थाका जेष्ठ नागरिक, असल बचत कर्ता तथा ऋणी र एसईई उत्तीर्ण विद्यार्थी तथा चिठ्ठा परेका सदस्यहरुलाई पुरस्कृत र सम्मान व्यक्त गर्दै सांसद गोसाईले अनावश्यक चिन्ता र दवाफले समाजमा मानसिक रोगीहरु बढेको चर्चा गर्दै हाम्रो पुर्खाले छेंकुलु व्याङ्ग हुन्छ भन्दै टोल टोलमा सांस्कृतिक नाँच गानहरुको विकास गरेको धारणा राख्नु भायो ।

बेखाल बचतले १६ औं साधारण सभाको अवसरमा नि:शुल्क सदस्यता वितरण गरेको थियो । सो अवसरमा बढी सदस्यता वितरण गर्न सफल सदस्यलाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत संघका इन्द्रप्रसाद व्याञ्जुले समुदायमा आधारित सहकारीलाई मात्रै विश्वास गर्न आग्रह गर्दै सघंले सदस्य सहकारीको स्नोतीका लागि तालिम, अन्तर बचत लगानी तथा सहकारी अभियानहरु सञ्चालन गर्दै आएको बताए ।
संस्थाका अध्यक्ष कृष्ण गोपाल अवालको सभापतित्वमा भएको सो साधारण सभामा मित्र सहकारीहरुको तर्फबाट थालाछे साकोसका पूर्णप्रसाद शिल्पकार, भक्तपुर बचतका निर्मल प्रजापतिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भनपा १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र कला संस्कृति एवं सरसफाईमा खेल्दै आएको भूमिका बारे चर्चा गर्दै विद्यार्थीहरुलाई उच्च शिक्षा दिलाउन र रोजगार अभिवृद्धिकालागि भक्तपुर नगरपालिकाले सहुलियत दरमा ऋण प्रदान गर्दै आएको उल्लेख गर्दै नगरभित्रका सहकारीहरुलाई समुदायमा आधारित र व्यवस्थित पार्न लागि परेको बताउनु भयो ।


संस्थाका सल्लाहकार राम अवालले पनि शुभकामना मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा सचिव देवकुमार अवालले आजको सानो बचत, भालिको ठूलो धनराशी नारा बोकी बेखाल सहकारी २०६४ साल कर्तिक २९ गते स्थापना भएको बताउँदै आव २०७९।८०कोे प्रतिवेदन प्रस्तुत गर्नु भयो भने संस्थाका कोषाध्यक्ष विशाल सिमाकले आव २०७९।८०को आय व्यय विवरण तथा आव २०८०।८१को अनुमानित बजेट प्रस्तुत गर्नु भयो । लेखा समितिका संयोजक सञ्जय शाक्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन २०७९।८० प्रस्तुत गरेको थियो ।
भक्तपुर जिल्ला बचत संघका व्यवस्थापक बालकृष्ण ध्वजूको प्रमुख आतिथ्यतामा संस्थाका सत्यकुमार दुवालको संयोजकत्वमा गठित निर्वाचन समितिले वर्तमाण अध्यक्ष कृष्ण गोपाल अवालको अध्यक्षतामा नयाँ कार्य समिति चयन तथा निर्वाचित गरी सपथ तथा कार्यभार ग्रहण गराएको सचिव देवकुमार अवालले जनाएको छ । अवाल अहिलेको नयाँ कार्य समितिमा उपाध्यक्षमा निर्वाचित भएका छन् ।