नेपालको पहिलो विहार संग्रहालय इतुंबाहाः उद्घाटन

नेपालको पहिलो विहार संग्रहालय इतुंबाहाः उद्घाटन

काठमाण्डौ, श्रावण १३ गते
नेपालको पहिलो विहार संग्रहालयको रुपमा इतुंबाहाः अर्थात “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहारको उद्घाटन भएको छ । करिव २ वर्षको तयारी पश्चात इतुंबाहाःलाई संग्राहलयको रुपमा विकास गरेको हो ।
काठमाडौं उपत्यकाका महाविहारमध्ये एक इतुंबाहाः अर्थात “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार ऐतिहासिक विशेषता भएको प्रसिद्ध एवं पुरातात्विक महत्व बोकेको प्रमुख महाविहार हो । इतुंबहाललाई कान्तिपुरका विहारमध्येको सबैभन्दा ठुलो र पुरानो महाविहार मानिन्छ । प्राचीन इतिहास बोकेको इतुंबाहाः आफैमा सिंगो सङग्रहालय मानिन्छ । मूर्तअमूर्त सम्पदाले पनि केशचन्द्र पारावत् महाविहार समृद्ध छ । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुने गरेको कुरा उल्लेख गर्दै आज प्रकाशित विज्ञप्ति मार्फत सो जानकारी गराएको हो ।
श्री भाष्करदेव संंस्कारित केशचन्द्रवृmत पारावत् महाविहारले इतुंबाहाःको ऐतिहासिक परम्परालाई कायम राख्न सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै श्री भाष्करदेव संंस्कारित केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले सो बारे जानकारी दिएका हुन ।
अध्यक्ष शाक्यले विज्ञप्तिमा भनिएको छ, इतुंबाहाः म्युजियम तयार भएको छ । करीब दुई वर्षदेखिको अथक प्रयासपछि आज यस इतुम्बाहाः म्युजियमको उद्घाटन हुन गइरहेकोमा खुशी पनि व्यक्त गर्न चाहन्छु । यसलाई नेपालको पहिलो विहार संग्रहालय हो भन्दा अत्युक्ति नहोला ।

रुवेनसँगको सहकार्य
इतुंबाहाः म्युजियम स्थापनाका लागि अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम आर्टले यस समाजसँग सहकार्य गरेको छ । यसैगरी, इतुंबाहा समाजले गरेको यस म्युजियमको परिकल्पना लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको हो ।
सन् १९९९ मा इतुम्बहाको आँग घरबाट हराएको पुष्पमालाले सुुुसज्जित अप्सरा (विद्याधर) अमेरिका पुगेको थियो । सन् २००३ मा रुवेन म्युजियमको सङ्ग्रहमा विद्याधर पनि थपियो । सामाजिक सञ्जालमार्फत् सतर्क गराउने मञ्च लस्ट आर्ट्समार्फत् रुवेन म्युजियम यस प्राचीन महत्व बोकेको सामाग्री विद्याधरको इतिहासबारे अवगत भयो । त्यसपछि रुवेनले तुरुन्तै यसको सत्यतथ्य बुझ्न अनुसन्धान गर्यो र विद्याधरलाई उसको पुरानै स्थान इतुम्बहालमा फिर्ता गर्न न्युयोर्कमा रहेको नेपाली वाणिज्य दुतावाससँग सहकार्य गरी विद्याधरलाई नेपाल फर्कायो ।

रुविनले सामाजिक दायित्वअनुरुप इतुंबाहाः संरक्षण समाजसँग सिर्जनात्मक साझेदारी गरेको हो । यस म्युजिमको स्थापनामा लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर स्वस्ति राजभण्डारी र उहाँका विद्यार्थीसम्मिलित टिमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
इतुंबाहाः म्युजियममा अहिले तीन ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामाग्री प्रदर्शनमा राखिएको छ । विनष्ट हुने अवस्थामा भण्डारणमा रहेका यी पुरातात्विक महत्वको सामाग्री संग्रह गरी सकेसम्म पहिलेकै अवस्थमा ल्याएर अभिलेखीकरण गरिएको छ । यसै क्रममा पाँच सयभन्दा बढी पुरातात्विक सामाग्री पहिचान भए पनि हाललाई करीब एक सय पुरातात्विक सामग्री मात्र प्रदर्शनमा राखेका छौँ । दशकौँदेखि भण्डारमा थुप्रिएका सामाग्रीलाई नष्ट हुनबाट जोगाउन र यस्ता सामाग्रीको पहिचान गरी आगामी पुस्तालाई पनि सम्पदा संरक्षण बारे जानकारी गराउने उद्देश्य यस सङ्ग्रहालयको रहेको छ । यसैगरी, इतुंबाहाः म्युजियमको एउटा सेक्सनले ‘मूर्त सम्पदाको संरक्षणमा सामुहिक जिम्मेवारीः हराएको र फिर्ता भएको सम्पदा’ को पनि जानकारी र जनचेतना गराउने प्रयास गरेको छ ।