मध्यपुर थिमिमा राेजगारकाे लागि न्यू मिडिया तालिम

राेजगारकाे लागि न्यू मिडिया तालिम

जेठ १९, केके मानन्धर । प्रशिक्षार्थी पत्रकारहरूलाई स्वराेजगार बनाउने उद्देश्यले भक्तपुरमा न्यू मिडिया तालिम सम्पन्न गरेको छ । राजधानीका तीनवटै जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थी पत्रकारहरूलाई लक्ष्यित गरि मध्यपुर थिमि नगरपालिका र मध्यपुर सञ्चार समाजले संयुक्तरूपमा सातदिने तालिम सम्पन्न गरेकाे हाे । तालिम कार्यक्रम अन्तर्गत राेजगारीमूलक न्यू मिडिया, खाेज पत्रकारिता तथा फाेटाे पत्रकारिता अध्यापन गराइएकाे आयाेजक संस्थाका अध्यक्ष बाबुकाजी श्रेष्ठले जनाए । ‘स्वदेशमा राेजगारीकाे पहिचान गर्न नसकेर युवाहरू धमाधम विदेश पलायन भइरहेका छन् । त्यसैले विदेशिने युवाहरूकाे संख्यालाई न्यूनीकरण गरी नेपालमै न्यू मिडियामार्फत स्वराेजगार बन्न सकिन्छ भन्ने सन्देश दिन तालिम गरेका हाैं ।’ श्रेष्ठले बताए । हुनपनि न्यू मिडिया अन्तर्गत युट्यूब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न सकेकाे खण्डमा पैसा कमाउन सकिन्छ । पछिल्लो समय पाेडकास्ट, ब्लगस्पट र भ्लग बनाएर जिपिकाेपार्जन गर्ने युवाहरू पनि छन् । साेही विषयकाे प्राविधिक र सैद्धान्तिक ज्ञानलाई तालिममा सहजिकरण गरिएको थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अागामी अार्थिक वर्षमा सञ्चार सम्बन्धिकाे नीति नै बनाएर अगाडि बढ्ने बताए ।

स्थानिय सरकारकाे सुचनालाई नगरबासीसम्म सहज ढंगले पुर्याउन, विकास निर्माण सम्बन्धिकाे जानकारी दिन पनि मिडिया आवश्यक रहेकाे श्रेष्ठको भनाइ थियाे । ‘याे वर्ष नगरपालिकाले सहकारी, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन लगायतको ऐन बनाएकाे छ । हामीले हाम्राे पाँच वर्षकाे कार्यकाललाई सफल बनाउन पनि पञ्चवर्षिय याेजना बनाएर अघि बढेका छाैं । तर याे विषय मिडियामा नआएको भएर हामीले गरेकाे काम नगरबासीले थाहा पाएनन् ।’  मेयर श्रेष्ठकाे गुनासाे थियाे । त्यसैले अागामी दिनमा पत्रकार तथा सञ्चार संस्थासँग मिलेर काम गर्ने बताए । तीस जना प्रशिक्षार्थी पत्रकारहरू सहभागी रहेकाे तालिम कार्यक्रममा सञ्चारकर्मी केके मानन्धर, सागर गुरागाइँ, सुमन श्रेष्ठ तथा विकेन रंजितले प्रशिक्षण दिएका छन् । तालिम समापन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, सामाजिक विकास शाखाका प्रमुख तुलसी भक्त तः, कान्तिपुर पब्लिकेसन्ससँग आवद्ध रहेका सञ्चारकर्मी विश्वेश्वर श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी ईश्वरलाल श्रेष्ठ, चन्द्र कृष्ण (गाेपाल) श्रेष्ठ लगायतकाे सहभागिता थियाे