भक्तपुर काण्डमा युद्ध अपराधीलाई जस्तो ब्यबहारः अध्यक्ष विजुक्छे
भक्तपुर, भाद्र ११ गते
भक्तपुर काण्डमा नेपाल मजदुर किसान संगठनका नेता कार्यकर्ता र समर्थकहरुलाई युद्ध बन्दी र अपराधी जस्तो ब्यवहार गरेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे बताउनु भयो । २०४५ साल भाद्र ९ गतेको भक्तपुर काण्डको स्मरण तथा राज्य स्तरबाट भएको षड्यन्त्रको भर्त्सना गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघले बिहिबार आयोजना गरेको वेविनार प्रशिक्षणमा अध्यक्ष विजुक्छेले सो कुरा बताउनु भएको हो । पञ्चायत सरकारको दमनका कारण आफूहरु १० वर्ष भारतका विभिन्न ठाउँमा बस्नु परेको स्मरण गर्दै अध्यक्ष विजुक्छेले भक्तपुर काण्डबाट छुटेपछि तत्कालिन राजा विरेन्द्रलाई भेटेर पृथ्वीनारायण शाहले उपत्यका जितेको २ सय २० वर्षपछि पनि नागरिकलाई जस्तो व्यवहार नगरेको तथा युद्धअपराधी जस्तो ब्यवहार गरेकोमा आपति जनाएको स्मरण गराउनु भयो । देशमा २२ हजार भारतीय तलव खाने नेपाली कर्मचारी रहेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले कतिपय राष्ट्रियताको कुरा गर्ने व्यक्तिहरु नै विदेशी एजेण्ट रहेको खुलेको उल्लेख गर्दै भक्तपुर काण्ड जस्तो घटना विश्वका विभिन्न देशहरुमा पनि हुने गरेको बताउनु भयो । राज्यस्तरबाट रचेको भक्तपुर काण्डको बेला नेमकिसंलाई सहयोग गर्ने महानुभावहरुको स्मरण गर्नु हुँदै नयाँ पुस्ताले यसबाट पाठ सिक्नुपर्नेमा अध्यक्ष विजुक्छेले जोड दिनु भयो ।

भक्तपुर काण्ड पञ्चायतले योजनाबद्ध तरिकाले षड्यन्त्र रचेको
काठमाडौं, भाद्र ११ । नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा राज्यस्तरबाट रचित भक्तपुर काण्ड विषयक प्रवचन कार्यक्रम अनलाइन जुममार्फत बिहिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर काण्डमा पञ्चायतले योजनाबद्ध तरिकाले षड्यन्त्र रचेको बताउनुहँुदै सर्जमिन एकतर्फी गरिएको र जिल्ला अदालतमा मुद्दा नगरी विशेष अदालतमा गरिनु संविधान र ऐनकानून विपरित भएको बताउनुभयो ।
उहाँले पञ्चायतले नेमकिपाका नेता–कार्यकर्ताहरुलाई युद्धबन्दीको जस्तो दुरव्यवहार गरेको बताउनुहँुदै तत्कालिन प्रम, मन्त्रीलगायतका उच्च पदस्थहरुले नै “रोहितलाई फाँसी दे” भन्दै जुलुशमा नारा लगाउनु भत्र्सनायोग्य भएको बताउनुभयो ।
उहाँले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गरेको कारण त्यसलाई रोक्ने उद्देश्य लिएर षड्यन्त्र गरेको बताउदै कम्युनिष्ट पार्टीविरुद्ध बेलायत, फ्रान्स, रुस, जर्मनी, अमेरिकालगायतका देशहरुमा पनि भएको प्रष्ट्याउनु भयो ।
अध्यक्ष बिजुक्छेँले नेपालको सिमाना खुल्ला भएकाले विदेशी जासुसहरु र पञ्चहरु नेपालका प्रमुख दलहरुमा भएको कारण शासक दलहरुले देश र जनताको सुरक्षा र सेवा गर्न नसक्ने औंल्याउनुभयो ।
उहाँले विदेशीको सहयोगमा नभई जनताको सहयोगमा क्रान्ति गर्नुपर्ने बताउनुहँुदै माओवादी पार्टीले नेपालमा गरेको उपद्रवले नराम्रो परिणाम ल्याउने औंल्याउनुभयो ।
अहिलेसम्म भारतले हाम्रो खुट्टा बाँधेको र यदि एमसिसि पास भएमा अमेरिकाले पनि हाम्रो खुट्टा बाँध्नेछ, दुबैले तान्दा नेपालको हविगत नाजुक हनेछ, अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
नेपालमा बिग्रेको मल आयात गर्ने मन्त्रीहरुलाई फाँसी दिनुपर्ने बताउनुहँदै उहाँले ठेक्का पट्टा र गुन्डागर्दीबाट युवा–विद्यार्थीलाई टाढा राख्नुपर्ने र स्वयम्सेवक भई काम गर्न जोड दिनुभयो ।
उहाँले युवा–विद्यार्थीहरु पद–पैसाको निम्ति नभई देश र जनताको सेवा गर्नको लागि राजनीतिमा लाग्नुपर्ने बताउदै २२ हजार भन्दाबढी नेपालका सरकारी कर्मचारीहरु भारतको पनि तलब लिएर देशघाती कार्य गरिरहेकोमा विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसंघ केन्द्रीय सदस्य सरजु फसिकवाले भक्तपुर काण्डको घटनाक्रम र नेमकिपाको सङ्घर्षबारे प्रस्तुती दिनुभएको थियो ।
आयोजक समितिका अध्यक्ष सबिन ख्याजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका उपाध्यक्ष प्रकाश गुरुङ र सदस्य मिलन गणेजूले पनि बोल्नुभएको थियो ।













